भारी वर्षाका कारण बुटवलका सडक जलमग्न, पैदलयात्रीलाई समस्या

काठमाडौँ । भारी वर्षाका कारण बुटवलका सबैजसो सडक जलमग्न भएका छन् । सडक जलमग्न र हिलाम्य भएपछि पैदलयात्रीलाई समस्या भएको छ । सवारी आवागमन अवरुद्ध भएको छ । मुख्य बजार क्षेत्रमै सडकको पानीको उचित निकास नहुँदा निर्माणाधीन सडकबाटै भेल बगेको हो ।

कालिकानगरको मुख्य सडक, अस्पताल क्षेत्रमा पानी जमेको छ भने तिनाउ नदीमा पानीको सतह बढेको छ । लामो समयदेखि चर्चाको विषय बनेको राजमार्ग चौराहा–गोलपार्क ६ लेन सडक विस्तारको काम समयमै नहुँदा यो समस्या आएको हो ।

आयोजनाअन्तर्गत राजमार्ग चौराहादेखि चिडियाखोलासम्मको सबै साइड क्लियर गरिसकेको अवस्थामा पछिल्लो समय ठेकेदार कम्पनीको कारण रोकिएको थियो । राजमार्ग चौराहादेखि चिडियाखोलासम्मको कञ्चनजङ्गा बिरुवा जेबी ठेकेदार कम्पनीले लापरवाही गरेको कारण समयमा बन्न नसकेको सडक डिभिजन कार्यालय बुटवलले जानकारी दिइएको छ । बुधबार बिहानदेखि परेको वर्षाले बुटवलको कालोपत्रे गर्न ठिक्क पारिएको सडकमा क्षति पुगेको छ ।