कृषिमन्त्री यादव राष्ट्रिय धान दिवसमा, असार १५ दहीच्युराले संस्कृतिलाई निरन्तरता दिने दिन

काठमाडौँ । उन्नाइसौँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवद्वारा बाली विज्ञान अनुसन्धान केन्द्र, खुमलटारमा आयोजित १९औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव’मा कृषिमन्त्री महेन्द्र राय यादव सहभागी भएका छन् । नेपाली समाजमा असार १५ लाई दहीच्युरा खाने पर्वका रूपमा पनि लिइन्छ । खेतीपातीबाहेक अन्य पेसा र व्यवसायमा लागेका नेपालीले पनि आज दहीच्युरा खाई असार १५ लाई सांस्कृतिक पर्वका रूपमा मनाउँछन् ।

रोपाइँ रमाउँदै किसान
असार १५ अर्थात् राष्ट्रिय धान दिवसको असवरमा भोजपुरको पोखरेमा रोपाइँ गर्दै किसान । नेकपा एमाले जिल्ला कमिटी भोजपुरले यहाँ रोपाइँ कार्यक्रमको आयोजना गरेको हो । जिल्लाको विभिन्न ठाउँमा धान दिवसको अवसरमा कार्यक्रम गरिएको छ ।

रोपाइँ गर्दै किसान
ललितपुरको खुमलटारमा रोपाइँ गर्दै किसान ।

प्रत्येक वर्ष असार १५ गते मनाइने धान दिवसका अवसरमा आज खेतमा काम गरी दहीच्युरा खाएर मनाइँदै छ । कामको चटारोले थकित भएका किसान शक्ति प्राप्तिका लागि दही च्युरा खान्छन् । यसबेला दहीच्युराले शरीरमा शीतलता भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ ।

हाम्रो संस्कृतिमा दहीको स्थान महत्त्वपूर्ण छ । शुभकार्यका लागि घरबाहिर निस्कने, विदेश जाने आदि महत्त्वपूर्ण काम गर्नुअघि दही अक्षता मुछेर निधारमा रातो टीका लगाउने परम्परा छ । यस्ता शुभकामना निस्कनुअघि रातो टीकासँगै सगुनका रूपमा पनि दही खुवाएर बिदाइ गरिन्छ । निस्कने बेलामा दही खाएर हिँडे साइत पर्ने जनविश्वास रहिआएको छ ।

दही वैज्ञानिक दृष्टिले पनि स्वास्थ्यवद्र्धक मानिन्छ । गुरु गोरखनाथले नेपालको एकीकरणकर्ता श्री ५ बडामहाराजधिराज पृथ्वीनारायण शाहलाई दही खान दिएर पराक्रमी हुने भविष्यवाणी गर्नुभएको थियो भनिन्छ । आयुर्वेदमा भोजनको अन्त्यमा दही मथेर बनाइएको मोही पिएमा औषधि उपचारका लागि स्वास्थ्यकर्मीकहाँ जानु नपर्ने बताइएको छ । ‘भोजनान्ते पिबेत् तक्रं वैद्यस्य किं प्रयोजनम्’ भन्नेजस्ता वाक्य पनि आयुर्वेदमा उल्लेख गरिएको छ । दहीले पाचन शक्ति पनि बढाउँछ ।

पखाला लागेका बेला दहीच्युरा खाएमा औषधिको काम गर्छ । यसैले दहीच्युरा खाने संस्कारले नेपाली संस्कृतिमा बृहत् रूप लिएको छ । यसरी असार १५ गते नेपाली समाजमा दहीच्युरा खाने पर्वका साथै राष्ट्रिय सांस्कृतिक पर्व बन्न सफल भएको छ । रासस