थपिए ६ सय ६० जना भन्सार एजेन्ट

काठमाडौँ । भन्सार विभागमा ६ सय ६० जना नयाँ भन्सार एजेन्ट थपिएका छन् । विभागले लोकसेवा आयोगमार्फत खुला प्रतिस्पर्धात्मक परीक्षा गरेर आज नयाँ एजेन्ट थपको अन्तिम नामावली सार्वजनिक गरेको छ ।

विभागले बुधबार निर्णय गरेर लिखित प्रतिस्पर्धामा सहभागी ८ सय ५७ जनामध्येबाट मौखिक अन्तर्वार्तामा उत्तीर्ण एजेन्टको अन्तिम नामावाली सर्वाजनिक गरेको हो ।

गत वैशाख १७ गते लोकसेवा आयोगमार्फत ८ सय ५७ जना लिखित परीक्षामा सहभागी भएका थिए । लिखित परीक्षामा सहभागीमध्येबाट यही असार ५ गतेदेखि १३ गतेसम्म मौखिक अन्तर्वार्ता सञ्चालन भएको थियो ।

लिखित र मौखिक परीक्षामा भाग लिई दुवै परीक्षामा औसतमा उच्च अङ्क प्राप्त गर्ने ६ सय ६० जनालाई छनोट गरिएको विभागले जानकारी दिइएको छ । भन्सार ऐन २०६४, भन्सार नियमावली २०६४, भन्सार एजेन्ट परीक्षा सञ्चालन कार्यविधि २०७७ र भन्सार विभागको निर्णयानुसार परीक्षा सञ्चालन गरिएको विभागले जानकारी दिइएको छ ।

विभागले २०७७ को चैत १६ गते ठूलो सङ्ख्यामा भन्सार एजेन्टको माग गरेको थियो । बीस वर्षदेखि नयाँ भन्सार एजेन्ट थप हुन नसकेको भन्दै एकैपटक ६ सय ६० एजेन्टका लागि इजाजत खुला गरिएको थियो ।