विनियोजन विधेयकमा निर्दिष्ट गरी राखिएका शीर्षकमाथिको छलफल समाप्त

काठमाडौँ । विनियोजन विधेयकमा निर्दिष्ट गरी राखिएका शीर्षकमाथिको छलफल समाप्त भएको छ । प्रदेश नं १ को प्रदेशसभाको आज बसेको बैठकमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, आन्तरिक मामिला तथा कानुन मन्त्रालय र खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालयसँग सम्बन्धित शीर्षकमाथि छलफल भएको थियो ।

छलफलमा प्रदेशसभा सदस्य लोकप्रसाद सङ्ग्रौलाले सुशासनको प्रत्याभूति दिलाउने प्रमुख जिम्मेवारी मुख्यमन्त्रीको रहेको चर्चा गरेका छन् । उनले राष्ट्रलाई समृद्ध बनाउन योजनाको सफल कार्यान्वयन र स्रोतको व्यवस्थापन भएको बताएका छन् । सुन्दर हरैचामा रहेको प्रहरी चौकीको घेराबेरामा विगतदेखि नै बजेट माग गर्दै आएकामा अहिलेसम्म नभएकाले बजेटको व्यवस्थापन गरी सरकारले शान्ति सुरक्षामा खटिने सङ्गठनलाई बलियो बनाउनुपर्ने धारणा समेत राखे । उनले जनतालाई स्वच्छ खानेपानीको व्यवस्था र सिँचाइको समुचित प्रबन्ध मिलाउने सरकारको जिम्मेवारी रहेकाले यसतर्फ सरकारको ध्यान जानुपर्नेमा जोड दिदै प्रदेशको सबै भौतिक संरचना एकै ठाउँमा बनाउन सुझाव दिइएका छन् ।

सदस्य मोहनकुमार खड्काले समग्रमा बजेटमा समर्थन जनाउँदै सिँचाइ र खानेपानीका योजनामा विशेष ध्यान दिनुपर्ने कुरामा जोड दिए । सदस्य राजकुमार ओझाले विगतमा ठूलो लगानी भएको योजनामा अहिले सरकारले अत्यन्त न्यून रकम विनियोजन गरेकाले आपत्ति रहेको गुनासो गरे । सदस्य होमकुमार साँवाले सरकारले विगतमा जनतासँग जोडिएको मुख्यमन्त्री सडक योजना र पुल अहिलेको सरकारले छायाँमा पारेकाले दुःख व्यक्त गरे ।