सर्वसाधारणका लागि राप्ती हाइड्रोको आइपीओ आउँदै

काठमाडौँ । राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले सर्वसाधारणका लागि साधारण निष्कासन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले यही असार २९ गतेदेखि सर्वसाधारणका लागि प्राथमिक सार्वजनिक निष्कासन आईपीओ खुला गर्न लागेको हो ।

यसअघि कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि निष्कासन गरेको शेयरमा बिक्री नभएर बाँकी रहेका ३७ हजार ६ सय २३ कित्तासहित कूल २३ लाख ६६ हजार २ सय ४० कित्ता शेयर निष्कासन गर्ने जानकारी गराएको छ ।

कम्पनीले जारी गरेको आह्वानपत्रानुसार कूल निष्कासित शेयरमध्ये तीन प्रतिशत अर्थात ७० हजार ९ सय ८८ कित्ता कर्मचारीका लागि ५ प्रतिशत अर्थात १ लाख १८ हजार ३ सय १२ कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरेको छ । यसमा बाँकी रहेका २१ लाख ७६ हजार ९ सय ४० कित्ता शेयरका लागि सर्वसाधारणले आवेदन दिन सकिने छ ।

लगानीकर्ताले आगामी साउन १ गतेसम्म न्यूनतम १० कित्तादेखि अधिकतम २१ लाख कित्तासम्मका लागि आवेदन दिन सक्ने र उक्त अवधिमा माग बमोजिम आवेदन नपरेमा साउन ११ गतेसम्म आवेदन दिन सकिने छ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्वा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्थाका सार्थै मेरो शेयर’को वेभसाइट तथा एपमार्फत पनि आवेदन दिन सकिने छ ।