गण्डकीमा बजेट माथिको छलफल जारी, बजेटका सम्बन्धमा आ–आफ्ना धारणा

काठमाडौँ । गण्डकी प्रदेशसभामा बजेट माथिको छलफल जारी नै छ । प्रदेशसभाको आजको बैठकमा सदस्यहरूले बजेटका सम्बन्धमा आ–आफ्ना धारणा राखेका छन् ।

बैठकमा प्रदेशसभा सदस्य रामशरण बस्नेतले बजेटमा एउटा र रातो किताबमा अर्कै आउने जस्ता प्रवृत्ति देखिएको बताए । जनताका आवश्यकतातर्फ बजेट केन्द्रित नभएको उनले बताउदै, यस बजेटबाट जनताका इच्छा र चाहना पूरा नहुने उनले भनाइ छ ।

बाढीका कारण जनजीवन अस्तव्यस्त भएको अवस्थामा सरकारले बेवास्ता गरेको आरोप लगाए । सरकारमा जबाफदेहिता नदेखिएको उनले बताएका छन् । मनकुमारी गुरुङले आफ्नो साधन स्रोतलाई ख्याल गर्नुपर्ने अवस्थामा हैसियत अनुसार बजेट आएको बताउँदै धेरै विषयलाई बजेटले समेटेको बताए । सरकारले जनतालाई अत्यावश्यक कतिपय नयाँ कार्यक्रम ल्याएको उनले बताएका छन् । कतिपय कार्यक्रम नीति तथा कार्यक्रममा परे पनि बजेटमा नसमेटिएको बताउँदै उनले रातो किताबमा ती विषय समेटिएर आउने विश्वास व्यक्त गरे ।

सावित्रा रानाले सरकारले ल्याएको बजेट परिणाम दिने खालको हुनुपर्नेमा वितरणमुखी आएको बताउदै, योजना छनोट विधि नै गलत अवलम्बन गरिएको उनले बताएका छन् । यो बजेटले समृद्धिको यात्रा तय गर्न नसक्ने उनको भनाइ छ ।

बजेट गन्तव्यमा पुग्ने किसिमको नभएको बताउनुभयो । सत्तापक्ष आफैँभित्र लुछाचुँडीमा लागेको हुँदा जनताका अपेक्षालाई ध्यान नदिइएको मोहनप्रसाद रेग्मीले बताएका छन् । आजको छलफलमा इन्द्रलाल सापकोटा, विनोद केसीलगायत सदस्यहरूले भाग लिएका थिए ।