ऊर्जामन्त्री भुसाल र भारतीय राजदूत श्रीवास्तवबीच शिष्टाचार भेट

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग नेपालका लागि भारतका नवनियुक्त राजदूत नवीन श्रीवास्तवले शिष्टाचार भेटवार्ता गरेका छन् । मन्त्रालयमा बुधबार भएको भेटवार्तामा उनीहरूबीच नेपाल र भारतबीचको आपसी सम्बन्ध र सहयोगका विषयमा छलफल भएको छ ।

ऊर्जामन्त्री भुसालले नेपाल–भारतको सम्बन्ध मित्रता, समानता, सहयोग र पारस्पारिक सम्मानका साथ अगाडि बढेको स्मरण गर्दै आगामी दिनमा दुई देशको मैत्रीपूर्ण सम्बन्ध अझ प्रगाढ हुने विश्वास व्यक्त गरेकी छन् । उनले पछिल्लो समय नेपाल–भारतबीच ऊर्जा क्षेत्रमा महत्त्वपूर्ण सहकार्य भएको उल्लेख गर्दै अगामी दिनमा अझ विस्तार हुने बताइन ।

मन्त्री भुसालले नेपाल–भारतबीच हाल हुँदै आएको ऊर्जा व्यापार सकारात्मक रहेको उल्लेख गरेकी छन् । हामीसँग भएको स्वच्छ ऊर्जा भारतलाई आवश्यक रहेको छ । त्यसैले आगामी दिनमा दीर्घकालीन विद्युत् व्यापार सम्झौता गरी अगाडि बढ्न नेपाल इच्छुक रहेको बतााइन । यहाँको कार्यकालमा विद्युत् व्यापारमा महत्त्वपूर्ण सफलता प्राप्त हुने मैले विश्वास लिएको छु, भनिन् । पश्चेश्वर जलविद्युत् परियोजनालाई अगाडि बढाउने साथै बाढीबाट हुने क्षतिका विषयमा दुई देशबीचको समझदारीलाई सक्रियताका साथ कार्यान्वयन गर्नुपर्नेमा उनले जोड समेत दिइन् ।

भेटमा भारातका राजदूत श्रीवास्तवले दुई देशबीचको सहकार्य थप विस्तार गर्न आफूले सक्दो पहल गर्ने विश्वास दिलाए । पछिल्लो एक वर्षमा विद्युत् व्यापारका क्षेत्रमा महत्त्वपूर्ण उपलब्ध भएको उल्लेख गर्दै भने, पछिल्लो एक वर्षमा विद्युत व्यापारमा ठूलो सफलता मिलेको छ । यसमा दुवै सरकारको सहकार्य रहेको बताएका छन् ।