बाँसपानीको पिङमा पर्यटकको आकर्षण बढ्दो

काठमाडौँ । कैलालीको गोदावरी नगरपालिकाको गोदावरी धाम, गोदावरी पुल र आधुनिक पिङ हेर्न तथा खेल्न आउने आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढ्दै गएको छ ।

सुदूपश्चिमका सात पहाडी जिल्ला जोड्ने गोदावरीमा अहिले विभिन्न पर्यटकीय क्षेत्र हेर्न आउने पर्यटकको ठूलो भीड लाग्न थालेको छ । गोदावरी–४ बाँसपानीमा नयाँ पिङ खोलिएपछि आन्तरिक तथा बाह्य पर्यटकको ओइरो लाग्ने गरेको छ । गोदावरी पुलदेखि दुई किलोमिटर माथि पहाड रोड नजिकै रहेको पिङ खेल्नेको भीड लाग्न थालेको छ ।

करिब २५ लाखको लगानीमा खोलिएको सो पिङ खेल्न अहिले दैनिक २ सयको हाराहारीमा पर्यटक पुग्ने गरेका छन् । यहाँ शनिबार धेरै भीड लाग्ने गर्दछ । पिङप्रति आकर्षण बाह्यभन्दा पनि आन्तरिक पर्यटकको मुख्य रोजाइ भएको छ ।

सुदूरपश्चिम प्रदेशमा पहिलो पटक आधुनिक पिङ सञ्चालनमा आउँदा यहाँको पर्यटकीय क्षेत्रमा विशेष टेवा पुग्ने स्थानीयको भनाइ छ । प्रसिद्ध गोदावरी धाम नजिकै पिङ रहेको हुँदा अझै पर्यटक सङ्ख्या बढी हुने गरेको छ । बाँसपानी पुगेका धनगढीका गजेन्द्र भट्टले भने,“चुरे त्यसै पनि आन्तरिक पर्यटकका लागि रमाइलो ठाउँ हो, त्यसमा पनि आधुनिक पिङले गर्दा अझ पर्यटक बढ्ने छन् ।”

पिङ तराई र पहाडको बीचमा हुँदा अझै सौन्दर्यता बढेको छ । प्रदेशमै पहिलो पटक आधुनिक पिङ सञ्चालन गरेर पर्यटक आकर्षित भइरहेका छन् । आधुनिक पिङ सञ्चालनमा ल्याइएको दुई हप्ता मात्रै भएको सञ्चालक पुस्कर जोशीले बताए ।

गोदावरी पर्यटकीय क्षेत्र भएकाले यसलाई अझै प्रभावकारी बनाउनुपर्छ भन्ने उद्देश्यले आधुनिक पिङ सञ्चालन गरिएको अर्का पिङ सञ्चालक हिक्मत महराले जानकारी दिएका छन् । पिङ निर्माण गर्दा धेरै ठूलो लगानी र समय लागेको जनाउँदै उनले आगामी दिनमा पिङसँगै जिपलाइन पनि सञ्चालन गर्ने योजना रहेको बताएका छन् । आधुनिक पिङ खेल्न आउने एक जनाको रु ३ सय र दुई जनाको ५ सय शुल्क लगाउने गरिएको छ ।