आजदेखि कुहिने र नकुहिने फोहोरलाई छुट्याउनुपर्ने

काठमाडौँ । आजादेखि काठमाडौँ उपत्यकामा घर, कार्यालय, कलकारखानाबाट उत्सर्जन हुने कुहिने र नकुहिने फोहोरलाई छुट्याएर अलग–अलग भाँडोमा मात्र फोहोर सङ्कलन गर्ने अनुरोध गरेको छ । सिसडोल र बन्चरेडाँडामा फोहोर व्यवस्थापन गर्ने काठमाडौँ महानगरपालिका र उपत्यकाका अन्य स्थानीय तहमा पनि आजदेखि फोहोरको वर्गीकरण गरिदै छ ।

त्यसो नगरे ल्याएको फोहोर फिर्ता लैजानुपर्ने हुन्छ र कारबाहीस्वरूप नगद जरिवानासमेत तिर्नुपर्ने जानकारी गराएको छ । काठमाडौँ महानगरपालिकाले साउन १ गतेदेखि लागू हुने गरी सो प्रावधान लागू गरेको छ ।

काठमाडौँ महानगरपालिकाका कृषि तथा वातावरण विभाग प्रमुख सरिता राईले फोहोरको सहज सङ्कलन तथा व्यवस्थापनका लागि साउन १ गतेदेखि स्रोतमा नै कुहिने र नकुहिने फोहोर छुट्याएर मात्र सङ्कलन गर्ने प्रावधान कडाइसाथ लागू गर्ने जानकारी दिएको छ ।

उनका अनुसार महानगरले हप्तामा दुई दिन कुहिने र दुई दिन नकुहिने फोहोरको सङ्कलन र व्यवस्थापन गर्नेछ । आइतबार र बुधबार कुहिने र सोमबार र शुक्रबार नकुहिने फोहोरको सङ्कलन तथा व्यवस्थापन गर्ने उनले जानकारी दिए । विभाग प्रमुख राईका अनुसार कुहिने र नकुहिने फोहोर छुट्याएर नल्याए प्रत्येक पटक पाँच सय रुपियाँ जरिवानासमेत गरिनेछ ।

उनले कुहिने फोहोरलाई सकेसम्म कम्पोस्ट मल, गड्यौले बनाई आफ्नै करेसाबारी वा कौसीखेतीमा प्रयोग गर्न, नकुहिने पुनः प्रयोग हुनसक्ने सामानलाई पुनः प्रयोग गर्न र चक्रिय फोहोरलाई कवाडी व्यवसायीलाई बिक्री गरी आर्यआर्जन गर्नसमेत महानगरले आग्रह गरेको बताए । त्यसैगरी प्लास्टिकको झोलाको सट्टा कपडा वा जुटको झोला प्रयोग गर्नसमेत महानगरले सबैसँग आग्रह गरेको छ ।