निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण प्रक्रिया अघि बढाउने

काठमाडौँ । सरकारले राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण प्रक्रिया अघि बढाउने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणले निजगढ विमानस्थल अघि बढाउने निष्कर्ष निकाल्दै त्यसका लागि आवश्यक प्रक्रिया अघि बढाएको हो ।

निजगढ विमानस्थलका सम्बन्धमा सर्वोच्च अदालतको अन्तिम फैसलापछि निर्माण प्रक्रिया अघि बढाउन विज्ञ समिति गठन गरेर थप अध्ययन गरी उपयुक्त स्थानमा विमानस्थल बनाउने गरी अघि बढिने मन्त्रालयले जानकारी दिइएको छ । पर्यटन मन्त्रालयले केही दिनभित्रै मन्त्रिपरिषद्‍मा उक्त प्रस्ताव लगेर विभिन्न विज्ञहरुको समितिलाई पूर्णता दिइने र सो समितिको प्रतिवेदनका आधारमा विमानस्थल निर्माण अघि बढाइने मन्त्रालयले जानकारी दिइएको छ ।

सङ्घीय संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा पर्यटनमन्त्री जीवनराम श्रेष्ठले सर्वोच्च अदालतको फैसलाको सम्मान गर्दै विज्ञहरुबाट थप अध्ययन गरी कमभन्दा कम वातावरणीय क्षति हुने गरी निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गरिने बताए । उनले भने, “निजगढ विमानस्थल राष्ट्रिय गौरवको आयोजना भएको र नेपालको पर्यटन क्षेत्रको विकासका लागि अपरिहार्य आयोजना हो । यो देशको अर्थतन्त्रमा गेमचेन्जर’ परियोजना भएकाले मन्त्रालयले उच्च प्राथमिकता दिएर सर्वोच्चको फैसलाअनुरूप निर्माण प्रक्रिया अघि बढाएका हौँ । फैसलाको विज्ञहरुबाट थप अध्ययन गराई आवश्यक निर्णय लिन्छौँ ।”

राष्ट्रिय गौरवको आयोजनाका रूपमा सूचीकृत निजगढ विमानस्थल निर्माणका लागि प्रारम्भिक चरणमा १ खर्ब २० अर्ब लाग्ने अनुमान गरिएको छ । प्राधिकरणले यो परियोजनाको विस्तृत डिजाइन कार्य गरिरहेको छ । राष्ट्रिय योजना आयोगका उपाध्यक्षको संयोजकत्वमा निर्माण मोडालिटीसम्बन्धी सिफारिस समितिले आवश्यक काम गरिरहेको छ ।

हालसम्म निजगढ विमानस्थलको नाममा ८ हजार ५० हेक्टर जग्गा अधिग्रहण गरिनुका साथै परियोजनाका लागि प्राधिकरणले ३ अर्ब खर्च गरिसकेको छ । परियोजनासँग जोडिएको द्रूत मार्गमा सरकारले २ खर्ब लगानी गरिसकेको छ ।

समितिका सभापति पवित्रा निरौला खरेलले नेपालको विकास र आर्थिक समृद्धिका लागि महत्वपूर्ण आयोजना निजगढ विमानस्थल निर्माण प्रक्रिया शीघ्ररूपमा अघि बढाइनुपर्ने बताएका छन् । उनले विगत २७ वर्षदेखि चर्चामा रहेको र धेरै विज्ञहरुले उपयुक्त ठह¥याएको निजगढ विमानस्थल निर्माणका लागि सर्वोच्चको पूर्ण फैसलालाई आत्मसाथ गर्दै कानून, न्याय तथा संसदीय मामिलामन्त्रीसँग छलफल गरी समितिले आवश्यक निर्णय लिने जानकारी दिए ।

प्रधानमन्त्री शेरबहादुर देउवासहित सत्तारूढ दलका शीर्ष नेताहरुले निजगढ विमानस्थलको स्थलगत अवलोकन गरी विमानस्थल निर्माण प्रक्रिया अघि बढाउन र दुई लेनको धावनमार्गसहितको अत्याधुनिक विमानस्थल निर्माण प्रक्रिया अघि बढाउन निर्देशन दिएका थिए । निजगढ विमानस्थलको कार्य प्रगति र आगामी योजनाबारे सङ्घीय संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध समितिले पर्यटनमन्त्री र प्राधिकरणका महानिर्देशकसँग निजगढ विमानस्थलको अवस्था र अबको कार्यदिशाबारे जानकारी लिएको हो ।