सर्वसाधारणका लागि श्वेत–गङ्गा हाइड्रोपावरको आइपिओ खुला

काठमाडौँ । श्वेत–गङ्गा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयरको निष्कासन तथा बिक्री खुला गरेको छ । कम्पनीले आजदेखि सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्कासन आइपिओको बिक्री खुला गरेको हो ।

कम्पनीले १ अर्ब ५९ करोड ३० लाखको १५ प्रतिशतले हुने प्रतिशेयर १ सय अङ्कित मूल्यका २३ लाख ८९ हजार ५ सय कित्ता साधारण शेयर निष्कासन गर्न लागेको हो । सार्वजनिक आह्वान पत्रानुसार निष्कासित शेयरमध्ये ५ प्रतिशत अर्थात् १ लाख १९ हजार ४ सय ७५ कित्ता शेयर सामूहिक लगानी कोषलाई बाँडफाँट गरी बाँकी रहने २२ लाख ७० हजार २५ कित्ता शेयरमा सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्ने छन् ।

सर्वसाधारणलाई बिक्री खुला गरिएको शेयरमा लगानीकर्ताले आगामी साउन ८ गतेसम्म र सो अवधिमा मागबमोजिम आवेदन नपरे साउन १८ सम्म न्यूनतम १० देखि अधिकतम १० हजार कित्ता शेयर खरिदका लागि आवेदन दिन सकिन्छ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट आस्वा प्रणालीमार्फत तथा ‘मेरो शेयर’को वेबसाइट र मोबाइल एपमार्फत आवेदन दिन सक्ने छन् ।