अब बिजलपुरासम्म रेल सेवा सञ्चालन हुने

काठमाडौँ । सरकारले जयनगर, जनकपुर कुर्था रेल सेवा सञ्चालनमा आएपछि थप सेवा विस्तारको तयारी सुरु गरिएको छ । यही साउन ३० गतेदेखि रेलको थप सेवा विस्तारको सुरुवात गर्ने गरी तयारी थालिएको जानकारी गराएको छ ।

राष्ट्रिय गौरवको आयोजनामध्येको रेल सेवा जयनगर–जनकपुर कुर्थासम्म सञ्चालन भइरहेको रेल सेवा अब बिजलपुरासम्म थप सेवा विस्तारको तयारीमा लागेको नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरन्जन झाले जानकारी दिइएका छन् ।

कुर्थादेखि १७.५ किलोमिटर रेल सञ्चालनको लागि लिक (पटरी) होल्ट, स्टेशनलगायतका भौतिक पूर्वाधार संरचना तयार भइसकेको छ, उनले भने , १५ अगस्तका दिन सेवा प्रारम्भ गर्नेबारे नेपाल–भारतका उच्चपदस्थ पदाधिकारीबीच कुराकानी सुरु भइसकेको छ । तर, थप सेवा उद्घाटनको मिति टुङ्गो लागिसकेको छैन । यसअघि कुर्थादेखि बिजलपुरासम्म रेलको भौतिक पूर्वाधारका संरचना नेपाल सरकारको रेल्वे कम्पनीलाई हस्तान्तरण गरिनुपर्ने भएकोले त्यो प्रक्रिया पनि अगाडि बढिसकेको उनले बताए ।

भारतीय इर्कन कम्पनीले करिब तीन करोड नेपाली रुपियाँ लागतमा बिजलपुरा खण्डको रेल मार्गको भौतिक पूर्वाधार संरचना निर्माण गरेको उनले जानकारी दिए । यस मार्गमा रेल सेवा सुरु भएपछि बिजलपुरादेखि बर्दिवाससम्म १८ किलो मिटर रेलको भौतिक पूर्वाधार संरचनाको काम सुरु हुने उनले बताए ।

नेपाल सरकारले बिजलपुरादेखि बर्दिवाससम्म रेलको लिकसहित भौतिक पूर्वाधार संरचनाको लागि जग्गा हस्तान्तरण गरेपछि तुरुन्त काम सुरु हुन्छ, महाप्रबन्धक झाले भने, यस खण्डमा जग्गाको मुआब्जाको विषयमा पनि टुङ्गो लागिसकेकोले अब तुरुन्त निर्माण काम सुरु हुन्छ । भौतिक पूर्वाधार तथा रेल्वे लिक निर्माणको ठेक्का पाएका भारतीय इर्कन इन्टरनेसनल कम्पनीले सन् २०११ माघ महिनादेखि निर्माण थालिएको थियो । जयनगरदेखि बर्दिवाससम्म ७० किलोमिटर छ । सन् २०१० मा भारत सरकारको आर्थिक सहयोगमा रेल सञ्जाल विस्तार गर्न भारत सरकारसँग सम्झौता भएको थियो ।

गत चैत १९ गते भारतको दिल्लीस्थित हैदराबाद हाउसबाट प्रधानमन्त्री शेरबहादुर देउवा र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्तरूपमा जयनगर–जनकपुर कुर्था रेल सेवाको भर्चुअल माध्यमबाट हरियो झण्डा देखाएर उद्घाटन गरे पछि जयनगर, जनकपुर कुर्थासम्म ३४.९ किलोमिटर नियमित रेल सेवा सञ्चालन हुँदै आएको छ ।

वर्षौदेखि अवरुद्ध रेल सेवा सञ्चालनको सपना पूरा हुने आशा पलाएको बलवा–१० धमौराका किसान हासिम कवारीले बताए । उक्त क्षेत्रका कृषि उपज सोझै भारतीय बजार, जनकपुरसम्म पु¥याउन सकिने आश जागेको उनले खुसी व्यक्त गरे । बिजलपुरासम्म रेल सेवा विस्तारको लागि महाप्रबन्धको नेतृत्वमा सशस्त्र प्रहरी प्रमुखहरुसहित टोलीले निरीक्षण गरेको थाहा पाएपछि त्यस भेगका लोहारपट्टी, बलवा, भङ्गाहा, पिपरा क्षेत्रका स्थानीयहरु निकै खुशी भएका छन ।

सन् २०१९ भित्रै रेल सञ्जाल विस्तारको निर्माण काम सम्पन्न गरिने प्रारम्भिक लक्ष्य लिएको थियो । तर, राजनीतिक उतारचढाव, भेलबाढी र जग्गा मुआब्जा निर्धारणमा भएको ढिलाइले समयमा काम सम्पन्न गर्न नसकिएको रेल विभागले बताए ।

रेलमा एक हजार २ सय देखि १ हजार ३ सय सम्म यात्रुले यात्रा गर्न सक्छन् । यात्रुबाहक रेल भएकाले यात्रुको झोला र सामान्य सामान मात्रै राख्न सकिनेछ । अब यहीँ रेल जयनगरदेखि बिजलपुरासम्म गुडने भएको छ ।