तीनपल्ट घट्यो इन्धन मूल्य, नेपालमा किन घटाइएन त ?

काठमाडौँ । इन्डियन आयल कर्पोरेसन आईओसीले मूल्य लगातार घटाएर इन्धन पठाए पनि नेपाल आयल निगमले खुद्रा बिक्री मूल्य यथावत्मै राखेको छ । आईओसीले जुलाई १६, अगस्ट १ र अगस्ट १६ मा गरी पेट्रोलमा प्रतिलिटर ३४ रुपैयाँ ५ पैसा र डिजेलमा ३३ रुपैयाँ ८५ पैसा घटाइसक्दा पनि निगमले पुरानो घाटा पूर्ति गर्न भन्दै मूल्य समायोजन गरेको छैन् । आईओसीलाई ४ महिनादेखि सम्झौताअनुसार भुक्तानी दिन नसकेको र सरकार तथा वाणिज्य बैंकबाट लिएको ऋण चुक्ता गर्नुपर्ने दायित्व रहेकाले मूल्य यथावत् राख्नुपरेको निगमले जानकारी दिइएको छ ।

निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीका अनुसार आईओसीको नयाँ मूल्यसूचीअनुसार पनि मासिक घाटा करिब ६२ करोड रुपैयाँ छ । ‘घाटाकै कारण आईओसीलाई २३ अर्ब तिर्न सकेका छैनौं । सरकार, वाणिज्य बैंक र आईओसीलाई तिर्नुपर्ने ब्याज मात्रै मासिक १४ करोड छ । यस्तो अवस्थामा मूल्य घटाउन कसरी सम्भव हुन्छ,’ कार्यकारी निर्देशक थानीको भनाइ छ ।

अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य उच्च भइरहँदा आपूर्ति सहज बनाउन निगमले सरकारसँग ५ प्रतिशत ब्याजदरमा ५ वर्षका लागि ७ अर्ब ऋण लिएको थियो । त्यस्तै, राष्ट्रिय वाणिज्य बैंकसँग ३ अर्ब ऋण लिएको छ । वाणिज्य बैंकले भने ९ प्रतिशतका दरले ३ महिनाका लागि ऋण दिएको हो । ‘ब्याजसँगै ऋण पनि समयमै चुक्ता गर्नुपर्ने दायित्व छ,’ कार्यकारी निर्देशक थानीले भने, ‘अब फेरि मूल्य घटेर आए समायोजनका लागि सोच्न सकिन्छ ।’

अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेकै कारण गत वर्ष करिब ५० अर्ब नोक्सानी भएको निगमको भनाइ छ । पुरानो घाटा पूर्तिसँगै मूल्य समायोजन हुन नसक्नुको अर्को कारण सरकारले कर समायोजन नगरिदिनु हो । अर्थ मन्त्रालयले पूर्वाधार कर शीर्षकबाट जेठको शोधभर्ना दिए पनि असारको दिएको छैन । जेठमा १० दिन बराबरको करिब ५९ करोड शोधभर्ना थियो । असारमा १ अर्ब ९३ करोड रुपैयाँ थियो । निगमले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमार्फत अर्थमा प्रस्ताव गरे पनि उक्त रकम पाएको छैन ।

प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा उच्च पदस्थ सहभागी बैठकमा अर्थमन्त्री जनार्दन शर्मा स्वयंले प्रतिलिटर पेट्रोलमा २० र डिजेलमा २९ रुपैयाँ कर समायोजन गर्न सकिने बताएका थिए । अर्थमन्त्री शर्माले कर समायोजन गर्न सकिने बताएलगत्तै निगमले भने पेट्रोलमा २० र डिजेलमा २९ रुपैयाँ घटाएको थियो । तर सरकारले कर समायोजन गरेन । अर्थमन्त्रीले वाचा पूरा नगरिदिँदा इन्धन मूल्य घटाउन नसकिएको निगमको भनाइ छ ।

निगमका अनुसार आईओसीबाट ९८ रुपैयाँ ६७ पैसामा खरिद गरिएको पेट्रोलमा ६३ रुपैयाँ ३६ पैसा सरकारी राजस्व लाग्छ । त्यस्तै १ सय २० मा खरिद गरिएको डिजेलमा ४७ रुपैयाँ ३ पैसा राजस्व उठाइन्छ । नयाँ सूचीअनुसार अहिलेको बिक्री मूल्यबाट निगमलाई पेट्रोलमा ४ रुपैयाँ ७४ पैसा नाफा छ । हवाई इन्धन आन्तरिकमा प्रतिलिटर ४५ रुपैयाँ र मट्टीतेलमा २२ रुपैयाँ नाफा छ । डिजेलमा ४ रुपैयाँ ५० पैसा र खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिन्डर ४ सय ९९ रुपैयाँ ५७ पैसा घाटा छ ।

निगमका अनुसार आईओसीले अगस्ट १६ साउन ३१ मा पठाएको मूल्यसूचीअनुसार पेट्रोलमा १ रुपैयाँ ९४ पैसा र डिजेलमा ४ रुपैयाँ ८४ पैसा घटेको छ । यसअघि साउन १६ मा डिजेल प्रतिलिटर १२ रुपैयाँ ४५ पैसा र पेट्रोल प्रतिलिटर १६ रुपैयाँ ८० पैसा घटेको मूल्यसूची आएको थियो । आईओसीले साउन १ मा पेट्रोल प्रतिलिटर १५ रुपैयाँ ७६ पैसा र डिजेल १६ रुपैयाँ ५६ पैसा घटाएको थियो । हाल अन्तर्राष्ट्रिय बजारमा ब्रेन्ट कच्चा तेलको मूल्य प्रतिब्यारेल ९३ डलर हाराहारी छ भने डब्लूटीई तेलको मूल्य प्रतिब्यारेल ८८ डलर छ । मूल्य अझै घट्ने अनुमान छ ।