‘बाघ’ मारेपछि बन्दीपुरमा बाघजात्रा

काठमाडौँ । तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा सोमबारदेखि सुरु भएको ऐतिहासिक बाघजात्रा मङ्गलबार सकिएको छ । खड्गमाई सांस्कृतिक समूहले बाघजात्राको सुरुआत गरेको थियो । बन्दीपुरका नेवार समुदायका व्यक्तिले तीन वर्षपछि बाघजात्रा मनाएका हुन् । कोभिड–१९ को जोखिमका कारण यसअगाडि बाघजात्रा निकालिएको थिएन ।

बन्दीपुर नेवा पुचःका अध्यक्ष किसन प्रधानले भने, “जात्रामा बाघले दुःख दिने गरेको, मात्तिएर हिँड्ने गरेको, शिकारीले बाघलाई लखेटेर मारेको र मारिएको बाघलाई राजाको जिम्मा लगाइएसँगै जात्रा समापन भएको दृश्य देखाइएको थियो । ” जात्रामा बाघ, डाक्टर, नर्स, शिकारी, पहलवान, राजाको भूमिकामा बन्दीपुरका नेवार समुदायका व्यक्तिले अभिनय गरेका थिए ।

कोभिड–१९ को जोखिमका कारण विगत तीन वर्षदेखि ननिकालिएको बाघजात्रा यो वर्ष निकालिएको खड्गमाई सांस्कृतिक समूहका अध्यक्ष गेहेन्द्र कायस्थले जानकारी दिनुभयो । संस्कृति संरक्षणका लागि बाघजात्रा निकालिएको जानकारी दिँदै उहाँले भन्नुभयो, “ऐतिहासिक संस्कृति संरक्षणका लागि हामी सधैँ क्रियाशील छौँ ।” बन्दीपुरका नेवार समुदायले विभिन्न संस्कृति र जात्राको संरक्षण गर्दै आएका छन् । बन्दीपुरमा भक्तपुरको शैलीमा विभिन्न जात्रा र पर्व मनाउँदै आइएको छ ।

बन्दीपुरका नेवारहरूले नयाँ वर्षमा मनाउने बिस्केट जात्रादेखि हरेक संस्कृति भक्तपुरे शैलीमा मनाउँदै आएका छन् । बन्दीपुरमा बस्ती मगर समुदायले बसालेका हुन् । त्यसैकारण बन्दीपुरको नामाकरण मगर भाषामै गरिएको छ । वन भनेको जङ्गल र डी भनेको मगर भाषामा पानी हो । विस्तारै मगर समुदाय यहाँबाट पलायन हुन थाले र नेवार समुदायको उपस्थिति बढ्न थालेको बताइन्छ ।

आजभन्दा साढे दुई सय वर्ष पहिला भक्तपुरका नेवार व्यापार गर्न बन्दीपुर बसाइसराइँ गरी आएका पाइन्छ । भक्तपुरबाट आएका प्रधान, पिया, श्रेष्ठ, मल्ल र जोशीले बन्दीपुरलाई थातथलो बनाए । भक्तपुरबाट उनीहरूमात्रै बन्दीपुर आएनन्, सँगै भक्तपुरे नेवारी संस्कृति पनि भित्रिएको थियो । सन् १७६८ तिर पृथ्वीनारायण शाहले काठमाडौँ आक्रमण गर्दा भक्तपुरका प्रधान, पिया, श्रेष्ठ, मल्ल र जोशीहरू बन्दीपुर पसेको इतिहास छ । व्यापार गर्न बन्दीपुर छिरेका भक्तपुरका नेवारहरूकै कारण बन्दीपुरमा आजसम्म विभिन्न जात्राको परम्परा रहँदै आएको छ ।