ट्राफिक प्रहरीद्वारा २२ करोड राजस्व सङ्कलन

काठमाडौँ । मधेस प्रदेश ट्राफिक प्रहरी कार्यालय पथलैया, बाराले आर्थिक वर्ष २०७८/७९ मा रु २२ करोड ४४ लाख राजस्व सङ्कलन गरेको छ । सवारी नियम उलङ्घन गर्ने २ लाख ६४ हजार ९ सय १० साना ठूला सवारीसाधनका चालकलाई दण्डजरिवाना गरी उक्त रकम असुल गरिएको हो ।

मधेस प्रदेशका ८ जिल्लाका ट्राफिक प्रहरी कार्यालयबाट गत आवमा सवारी नियम उलङ्घन गरी दण्डजरिवाना असूल गरिएको प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिएका छन् । सो क्रममा ९९ हजार ३ सय ५८ ट्रक चालकबाट रु ११ करोड ५२ लाख ४३ हजार, ७६ हजार ७ सय १३ मोटरसाइकल चालकबाट ४ करोड ९५ लाख ७५ हजार तथा ४७ हजार ५ सय ५ कार, जीप र भ्यान चालकबाट रु तीन करोड २० लाख राजस्व असूल गरिएको छ ।

१५ हजार ५ सय ४० ट्याक्टरका चालकबाट रु ९६ लाख, १३ हजार ४ सय २० टेम्पु चालकबाट रु ९० लाख ६४ हजार र ११ हजार ६ सय ७७ बसका चालकबाट रु ८९ लाख २० हजार दण्डजरिवाना गरी राजस्व दाखिला गरिएको कार्यालयले जानकारी गराएको छ ।