तीन महिनापछि सुकेटार विमानस्थल सञ्चालनमा

काठमाडौँ । नेपाल एयरलाइन्सले ताप्लेजुङको सुकेटार विमानस्थलमा तीन महिनापछि उडान भरेको छ । प्रतिकूल मौसमका कारणले अवरुद्ध रहेको उक्त विमानस्थल आज सञ्चालनमा आएको हो ।

जहाजले काठमाडौँबाट सात यात्रु लिएर आएको र ताप्लेजुङबाट पाँच यात्रु लिएर काठमाडौँ फर्केको नेपाल वायुसेवा निगम ताप्लेजुङ कार्यालय प्रमुख लोकेन्द्र लिम्बूले जानकारी दिइएका छन् । उनका अनुसार अब तालिकाअनुसार सातामा सोमबार, बुधबार र शुक्रबार उडान हुनेछ । यात्रुको चापलाई मध्यनजर गर्दै केही समयपछि शनिबार पनि उडान थप्ने तयारी भइरहेको कार्यलयले जानकारी दिइएको छ ।

गत जेठ १५ गते अन्तिम उडान भएको थियो । यात्रुले टिकट बुकिङ गरेपनि मौसमकै कारण जहाज आउन नसकेपछि उडान बन्द भएको थियो । लामो समय अवरुद्ध भएको उडान सुरु भएसँगै पर्यटन व्यवसायी, होटल व्यवसायी र सर्वसाधारण उत्साहित भएका छन् । उडानले प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिर पूजापाठ गर्न आउने तीर्थयात्रीलाई सहज हुने छ ।