तीन महिनादेखि लेदो मिसिएको पानी

काठमाडौँ । झापाको भद्रपुर नगरपालिका–८ स्थित नेपाल खानेपानी संस्थानले वितरण गर्दै आएको खानेपानीमा लेदो मिसिएको छ । तीन महिनादेखि धाराबाट दूषित पानी आउँदा उपभोक्ता मारमा परेका छन् ।

खानेपानी संस्थानले वितरण गर्दै आएको पानी दूषित भएको भन्दै पटक–पटक गुनासो गर्दा पनि सुनुवाइ नभएको भद्रपुर–८ का तोया गड्तौलाले बताए । “लेदो मिसिएको पानी आयो भनेर धेरैपटक गुनासो ग¥यौँ”, उनले भने, “तर सुनुवाइ भएको छैन ।”

कार्यालयको ध्यानाकर्षण गराउँदासमेत उपभोक्ताले शुद्ध पानी उपभोग गर्ने वातावरण नबनेको सामाजिक अभियन्ता शिवकुमार राजभण्डारीले बताए । “फोहर पानी दिएर नागरिकको स्वास्थ्यमा खेलवाड गर्न पाइँदैन”, उनले भने । धारामा दूषित पानी आउन थालेको महिनौँ बितेपछि सामाजिक अभियन्ताको टोलीले संस्थानका कार्यालय प्रमुख रामकुमार श्रेष्ठसँग छलफलसमेत गरेको छ । शुद्ध पानी दिन उनले प्रतिबद्धता व्यक्त गरे ।