ससुराली घरबाट ७१ लाख बढीको कपाली तमसुक बरामद

काठमाडौँ । महोत्तरी जिल्लामा मिटर ब्याजी अनुरुद साहको ससुराली घरबाट ७१ लाखभन्दा बढीको कपाली तमसुक बरामद भएको छ । प्रहरी नायब उपरीक्षक चन्देश्वर यादवका अनुसार उनले १३ जनासँग मिटर ब्याज चलाएर २० लाख ३३ हजार ठगी गरेको व्यहोराको उजुरी विगत डेढवर्षदेखि जिल्ला प्रशासन कार्यालयबाट प्राप्त भएको थियो । त्यसपछि उनी पछि फरार भएका थिए ।

शनिबार पक्राउ परेका उनको ससुराली घरबाट ७१ लाख ४४ हजार ३ सय ५० रुपैयाको ९ थान कपाली तमसुक बरामद भएको हो । महोत्तरी र धनुषासहित पूर्वको झापा जिल्लासम्मका मानिससँग मिटर ब्याजको कपाली तमसुक गराएको नौ थान कपाली तमसुक प्रहरीले साह बस्दै आएको धनुषाको जनकपुर उपमहानगरपालिका– ७ ससुराली घरबाट बरामद गरेको हो ।

उनले ५० हजारका ९ लाखसम्मको कागज बनाएको, कतिको १२ गुणा बढीको कागज बनाएको र कतिलाई ब्याजको रकम माफ गरिदिन यौन प्रस्ताव गरेको तथा दर्जनौँ बढी व्यक्तिको थातथलो हडपेको भनेर जिल्ला प्रशासन कार्यालयमा १४ जनाले उजुरी गरेका थिए ।

यसैगरी निज साह उपर २०७७ माघ २९ गते महोत्तरी जिल्ला अदालतमा १४ जनाले रु बयालिस लाख बयाननब्बे हजार एक सय ९० बाराबरको बिगो दाबीसहित ठगी तथा आर्थिक शोषण मुद्दा दायर गरेकामा उनलाई अदालतले रु एक लाख ५० हजार धरौटी राखी तारेखमा छाडेको थियो । सोे मुद्दा अझै पनि अदालतमा बिचाराधीन छ ।

मिटर ब्याजी साहलाई प्रहरीले करिब डेढ वर्षको प्रयासपछि शनिबार साँझ ७ बजेतिर भङ्गाहा नगरपालिका– ५ बाट पक्राउ गरिएकामा जिल्ला अदालतबाट म्याद थप गराइ हिरासतमा लिएर अनुसन्धान अगाडि बढाएको छ ।