ओलीको प्रश्न : लिपुलेक, लिम्पियाधुरा र कालापानी कस्को हो ?

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई लिपुलेक, लिम्पियाधुरा र कालापानी कस्को हो भनेर प्रश्ना गरेका छन् ।

अध्यक्ष ओलीले लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपाल हो भनेर भन्न सत्तारुढ दलका नेताहरु डराएको आरोप लगाएका छन् ।

सोमबार ललितपुरमा आयोजित विभिन्न पार्टीबाट आएका नेता, कार्यकर्तालाई आफ्नो पार्टीमा प्रवेश गराउने कार्यक्रममा बोल्दै उनले एमालेले भने सो जमिन समावेश गरेर नेपालको नक्सा जारी गर्ने काम गरेको स्पष्ट पारेका छन् ।

नेपालले १ सय ४६ वर्षदेखि भोगचलन गर्दै आएको जमिन ६० वर्ष अघि हाम्रो हातबाट खोसेर लगेको हो भनेर एमाले नेतृत्वको सरकारले मात्रै मुलुकको नक्सामा सामेल गरेको अध्यक्ष ओलीले स्मरण समेत गराए ।

अध्यक्ष ओलीले सत्तारुढ दलका नेताहरु आफ्ना छोरीबुहारी, श्रीमति, साला, आफन्तहरुलाई मात्रै माथि उठाउने काममा केन्द्रित भईरहेको दोहोर्‍याउदै सत्तारुढ दलका नेताहरु भने यसबारे चुईक्क बोल्न नसकेको उनले बताए ।

सत्तारुढ गठबन्धनले राजनीतिलाई दुश्मनीको विषय बनाएको भन्दै अध्यक्ष ओलीले आपत्ति जनाएका छन् । प्रतिस्पर्धालाई छोडेर सत्तारुढ दलहरुले मिलेर राजनीतिलाईं दुश्मनीको विषय बनाएको उनले बताए ।