एक्सनमा महानगर मेयर बालेन, निर्देशनमा होइन आफ्नै उपस्थितमा भवनमाथि डोजर

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालने साह एक्सनमा उत्रिएका छन् । महानगरपालिका क्षेत्रभित्र बनेका ठूला व्यापारिक भवनहरुले नक्सा स्वीकृत गर्दा पार्किङ्गका नाममा राजश्व छुट लिएर पाकिङ्ग प्रयोजन नगरी व्यापारिक प्रयोजनमा नै भाडामा लगाएपछि त्यस्ता भवनमा महानगरले डोजर लगाउन शुरु गरेको छ । महानगरपालिकाल नक्साअनुसार उपयोग नगरी अन्य व्यावसायिक प्रयोजन गरेको भवन भत्काएको छ ।

बानेश्वरबाट शुरु भएको बालेनको एक्सन, काठमाडौं मल, आरवी कम्प्लेक्स हुँदै लण्डन पव हाउससम्म पुगेको छ । विगतमा जस्तो मेयरको निर्देशन महानगरप्रहरीले त्यस्ता संरचना भत्काउने गरिएको भएपनि अहिले मेयर आफ्नै उपस्थितिमा त्यस्ता संरचना भत्काउन जुटेका छन् ।

मेयर बालेनको यो अभियानमा उपत्यका ट्राफिक प्रहरी प्रमुख मीरा चौधरीको पनि पूर्ण रुपमा साथ रहेको छ । बालेन जहाँ संरचना भत्काउन पुगेका छन् त्यहाँ चौधरी पनि पुग्ने गरिकी छिन् ।

मेयर बालेनले ३५ दिने सूचना दिएर पनि अटेर गरेका त्यस्ता व्यवसायिक भवनहरुको संरचना गोप्य तालिका बनाएर भत्काउन थालेका हुन् । ३५ दिनअघि दिएको सूचनालाई बेवास्ता गरी बेसमेन्टमा व्यवसाय सञ्चालन गरेपछि महानगरले काठमाडौं मलको दुईतले बेसमेन्ट भत्काएको हो । महानगर मेयर बालेन डोजर, क्रेनसहित सामग्री लिएर संचरना भत्काउन पुगेका थिए ।

काठमाडौं मलको संरचना भत्काएपछि बालेन नेतृत्वको टोली खिचापोखरीस्थित आरबी कम्प्लेक्स पुगेको थियो । आरबी कम्प्लेक्स व्यवस्थापनले पार्किङस्थलमा करिब डेढ दर्जन बढी पसल सञ्चालन गर्न दिएको थियो । सो टहरा र संरचना पनि हटाइएको छ ।

कामपाका मेयर साहले बबरमहलमा रहेको काठमाडौं जिल्ला अदालतले बाटोमा पार्किङ गर्न लगाएकोमा विरोध जनाउँदै तत्काल आफ्नै भवनमा पार्किङ व्यवस्था गर्न आग्रह गरेका छन् । कामपाले एक साताअघि जिल्ला अदालतले नक्सा पास गरेको कागजात माग गर्दै पत्राचार गरेको थियो । अदालतले हालसम्म कागजात दिन नसकेको कामपा शहरी विकास विभागले जनाएको छ ।

बेसमेन्टमा पार्किङको व्यवस्था नगरे कारबाही गर्ने चेतावनी दिएको मेयर बालेनले दिएका छन् । कामपाले राजधानीका ठूला मललाई निशाना गरी कारबाही अघि बढाउने तयारी गरेको छ ।

अधिकांश मलले पार्किङका लागि नक्सा पास गरी व्यवसाय सञ्चालन गरिरहेको सूचना कामपालाई छ । स्रोतका अनुसार सीटीसी मल, बानेश्वरको अल्फाबिटा, त्रिविको स्वामित्वमा रहेको वल्र्ड ट्रेड सेन्टरलगायत दुई दर्जन बढी भवन महानगरको निसानामा रहेको छ । महानगरले ३ सय ३३ भवनको विषयमा अध्ययन गरिरहेको छ ।