चितुवाको मुखबाट छोरालाई खोसेर ल्याउन सफल

काठमाडौँ । तनहुँको बन्दीपुर गाउँपालिका–१ बानियाटारमा बुधबार साँझ सुवास परियारका तीन वर्षीय छोरा सुलभ परियारलाई चितुवाले आक्रमण गरी सख्त घाइते बनाएको छ । साँझ करिब ६ बजेको समयमा घरको पिँढीमा खेलीरहेका परियारलाई चितुवाले तानेर लैजान थालेपछि उनकी आमा पनि चितुवाको पछि पछि कुदेकी थिइन् । करिब ५० मिटर टाढा पुगेर छोरालाई खोसेर ल्याउन सफल भएकी स्थानीय प्रत्यक्षदर्शी वासु पन्थले जानकारी दिए ।

साँझ करिब ५ बजेको समयमा सोही ठाउँका हेमबहादुर रानाको खसीलाई चितुवाले आक्रमण गरेर घाइते बनाएपछि बालक परियारलाई समेत चितुवाले आक्रमण गरेको थियो ।   रानाले होहल्ला गरेपछि भागेको चितुवाले पुनः गाउँमा पसेर परियारलाई आक्रमण गरेको थियो । परियारलाई चितुवाले तानेर लगेको जानकारी पाएको डिभिजन वन कार्यालयका प्रमुख कोमलराज काफ्लेले बताए ।  

घाइते परियारको बन्दीपुर गाउँपालिका–४ डुम्रेस्थित मोती हेल्थ क्लिनिकमा प्राथमिक उपचार गरिएको थियो । उनलाई थप उपचारका लागि चितवन मेडिकल कलेज भरतपुर पठाइएको गाउँपालिकाका निवर्तमान अध्यक्ष पूर्णसिं थापाले जानकारी दिए । परियारको घाँटी तथा शरीरका अन्य भागमा घाउ रहेको छ ।