खोटाङबाट १४ विधाका १५८ खेलाडीले प्रतिस्पर्धा गर्ने

काठमाडौँ । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि खोटाङबाट १४ विधाका १ सय ५८ खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् । उक्त खेल्मा सितोरियो कराँते, फुटबल, भलिबल, एथ्लेटिक्स, ब्याडमिन्टन, उसु, तेक्वान्दो, बक्सिङ, बुद्धिचाल, टेबलटेनिस, शारीरिक सुगठन, पौडी, भारोत्तलन र सफ्ट टेनिसका खेलाडी छनोट हुनेछन् ।

दश स्थानीय तह रहेको जिल्लाबाट भलिबलका १८, एथ्लेटिक्सका २२ र बुद्धिचालका चारजना खेलाडी छनोट भइसकेको जिल्ला खेलकुद विकास समिति खोटाङका प्रमुख लीलाभक्त केसीले जानकारी दिए । तेक्वान्दोका २२ , टेबलटेनिसका चार, फुटबलका ३२ र ब्याडमिन्टनका सात जना खेलाडी बिहीबार र शुक्रबार सञ्चालन हुने छनोट प्रतियोगिताबाट छनोट हुने जानकारी गराएको छ ।

यस्तै, भारोत्तलनका दुई, उसुका दश, बक्सिङका तीन, पौडीका दुई, शारीरिक सुगठनका एक र सफ्ट टेनिसका दुई खेलाडीले प्रदेशस्तरीय खेलमा सहभागी जनाउने भएको छ । नवौँ राष्ट्रिय खेलकूद प्रतियोगिता पोखरामा आगामी असोज–२८ गतेदेखि कातिक–३ गतेसम्म सञ्चालन हुने छन् ।

प्रतियोगिताका लागि खोटाङमा अहिले दिक्तेलस्थित जिल्ला खेलकुद विकास समितिको कभर्डहलमा छनोट खेल सञ्चालन भइरहेको छ । नवौँ राष्ट्रिय प्रतियोगिताका लागि जिल्लास्तरीय छनोट तथा चौधौँ जिल्लास्तरीय कराँते प्रतियोगिता दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई र प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेडाइँले शुभारम्भ गरेका छन् ।

प्रदेशस्तरीय प्रतियोगिताका लागि खोटाङबाट सितोरियो कराँतेका २९ जना खेलाडी छनोट हुने आयोजकले जानकारी गराएको छ । प्रदेशस्तरीय प्रतियोगितामा सहभागी हुने खेलाडी छनोटका लागि नेपाल सितोरियो कराँते सङ्घसँगको सहकार्यमा जिल्ला खेलकुद विकास समितिले प्रतियोगिता आयोजना गरेको छ ।

जिल्लास्तरीय छनोट प्रतियोगिताबाट छानिएका खेलाडीले आगामी भदौ–१६ गतेदेखि ३० गतेसम्म सञ्चालन हुने प्रदेशस्तरीय प्रतियोगितामा सहभागी हुन पाउने छन् ।