मतदानस्थल अनुगमन सुरु

काठमाडौँ । आगामी मङ्सिर ४ मा हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि बैतडीका मतदानस्थल र मतदानकेन्द्र अनुगमन सुरु गरिएको छ । निर्वाचनलाई मध्यनजर गरेर दशरथचन्द नगरपालिका, डिलाशैनी र दोगडाकेदार गाउँपालिका अन्तर्गतका केही मतदानस्थल र मतदान केन्द्रको अनुगमन गरिएको हो ।

जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीका अनुसार मतदानस्थल र मतदान केन्द्रको सुरक्षा स्थितिका विषयमा जानकारी लिनका लागि अनुगमन सुरु गरिएको हो । डिलाशैनीको वडा नं २ र ३, दोगडाकेदारका वडा नं ४, ५, ७ र दशरथचन्दका ४ र ६ नम्बर वडाका मतदानस्थल र मतदान केन्द्रको अनुगमन गरिएको छ ।

प्र्रमुख जिल्ला अधिकारी सुरेश पन्थीसहित जिल्ला सुरक्षा समितिका सदस्य, स्वास्थ्य कार्यालयका प्रमुख सहितको टोलीले मतदानस्थल, मतदान केन्द्र र स्वास्थ्य संस्थाको अनुगमन गरेको छ ।

पुनरावलोकन गरिएका निर्वाचन मतदानस्थल तथा केन्द्र चुस्त रहेको पाइएको छ । यसका साथै सोही क्रममा विभिन्न स्वास्थ्य संस्थामा पनि अनुगमन गरिएको छ । उनले भने, “ अनुगमनका क्रममा केही स्वास्थ्य संस्थामा अत्यावश्यक औषधि नभएको, कार्यालय व्यवस्थापनमा ध्यान नदिएको र खानेपानीको उचित प्रबन्ध नभएको समस्या देखिको छ, समस्या समाधानका लागि सम्बन्धित पालिका र समन्वयका लागि स्वास्थ्य कार्यालयलाई पनि आग्रह गरेका छौँ ।”

जिल्लाका अन्य मतदानस्थल र मतदानकेन्द्रको पनि अनुगमन गरिने जिल्ला सुरक्षा समितिले जनाएको छ । एक लाख ५१ हजार मतादाता रहेको बैतडीमा १ सय २९ ओटा मतदानस्थल र २ सय ५ मतदान केन्द्र रहेका छन् ।