निर्वाचनको जनमत एमालेको पक्षमा ल्याउन ओलीको निर्देशन

काठमाडौँ । आगामी मंसीर ४ मा हुने संघ र प्रदेशको निर्वाचनको जनमत एमालेको पक्षमा आउने वातावरण बनाउन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्देशन दिएका छन् ।

शुक्रबार ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा जारी पार्टीको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आगामी निर्वाचनमा एमालेको पक्षमा आउने कार्यकर्तालाई निर्देशन दिएका हुन् । उनले जनता अलमलमा पर्नसक्ने भन्दै उनीहरुलाई अलमलबाट मुक्त गरेर एमालेको पक्षमा आउने वातावरण बनाउने जिम्मेवारी पार्टीका नेता, कार्यकर्ताहरुको काँधमा रहेको बताए ।

‘यस निर्वाचनलाई शान्तिपूर्ण वातावरणमा, भयरहित परिस्थितिमा, भयरहित वातावरणमा हामीले सम्पन्न गर्नुपर्नेछ । यस निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष बनाउन हामीले प्रभावकारी भूमिका खेल्नुपर्दछ । जनतालाई अलमलबाट मुक्त गरेर एमालेको पक्षमा आउने वातावरण बनाउने जिम्मेवारी हाम्रो काँधमा छ । जनमत एमालेको पक्षमा, देशको पक्षमा, लोकतन्त्रको पक्षमा जनमत सिर्जना गर्ने, त्यस जनमतको त्यसैगरी रक्षा गर्ने, त्यस जनमतलाई कसैले गलत ढंगले दुष्प्रभावित गर्लान त्यसका निम्ति ध्यान दिने । त्यसका निम्ति विभिन्न प्रकारका तरिका र उपायहरु अवलम्वन गर्ने । त्यतातर्फ हामीले ध्यान दिनु जरुरी छ,’ ओलीले भने ।

अध्यक्ष ओलीले बैठकमा राजनीतिक प्रतिवेदन पेस गर्ने, सचिवालयका निर्णय अनुमोदन गर्ने, उम्मेदवारको छनोटको मापदण्ड तय गर्ने कार्यसूची रहेका छन् । त्यस्तै स्थानीय निर्वाचन छानबिन कमिटीको प्रतिवेदन, सदस्यता अभिलेख व्यवस्थापन, सल्लाहकार परिषद् र पार्टीका आयोगहरुका प्रतिवेदन पेस गर्ने लगायत कार्यसूची रहेको बताइएको छ ।