आज कुशे औँसी, बाबुको मुख हेर्ने दिन पर्वका रुपमा मनाइँदै (फोटो फिचर)

काठमाडौं । आज कुशे औंशी बाबुको मुख हेर्ने पर्वमा रुपमा मुलुकभर मनाईँदै छ । प्रत्येक वर्ष भाद्रकृष्ण औँसीका दिन मनाइने कुशे औँसी पर्व वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घर–घरमा भित्र्याएर मनाईने गरिन्छ ।

शास्त्रको विधिअनुसार ब्राह्मणद्वारा पूजा गरी उखेलेर जजमानकहाँ पु¥याइएको कुश घरमा राख्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास छ । आजका दिन उखेलिएको कुश वर्षभर प्रयोग गर्न सकिने र अरु दिन उखेलिएको कुश त्यसै दिन मात्र उपयोग गर्न सकिने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद्हरु बताउँछन् ।

सनातन धर्मावलम्बीले कुश, तुलसी, पीपल र शालिग्रामलाई भगवान् विष्णुको प्रतीक मान्दछन् । सृष्टिकर्ता ब्रह्माजीले विवेकशील प्राणीसँगै पवित्र कुश पनि उत्पन्न गर्नुभएको धार्मिक विश्वास छ । आजका दिन घर–घरमा राखिएको कुश वर्षभर हुने देवकार्य एवं पितृकार्यमा प्रयोग गरिन्छ । आजको दिन काठमाडौंको गोकर्णेश्वर महादेव मन्दिर परिसरमा बाबु नभएकाहरुको ठूलो भीड लाग्ने गर्दछ । गोकर्णेऔंशीका रुपमा पनि चिनिने कुशे औशी पारेर बाबु नहुनेहरुले गोकर्णमा श्राद्ध पनि गर्ने परम्परा रहि आएको छ ।

पितृसम्मान दिवस

यसै अवसरमा छोराछोरीहरू परम्पराअनुसार आ–आफ्ना बाबुलाई मन पर्ने मिठाई तथा भोजन खुवाई आदर सम्मान प्रकट गर्ने र बाबुको मुख हेर्ने गर्दछन् । बाबु नहुनेहरू विभिन्न पवित्र स्थानमा गई आफ्ना बाबुको नाममा तर्पण, पिण्डदान तथा श्राद्ध गरी सिदा दिन्छन् ।

आजको दिन विशेषगरी उत्तरगया भनेर चिनिने काठमाडौँको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वर महादेव मन्दिर परिसरमा विशेष मेला लाग्छ । यसैले आजको औँसीलाई गोकर्णे औँसीका नामले पनि चिनिन्छ । यस अवसरमा गोकर्णेश्वर महादेव मन्दिर परिसरमा दिवङ्गत बाबुको नाममा तर्पण, पिण्डदान तथा सिदादान गर्नेहरूको भीड लाग्ने गरेकोछ ।

गोकर्णेश्वर महादेवमा भक्तजनहरुको भीड
पितृलाई पिण्डदान स्वरुप बागमतीमा सेलाउँदै
बागमती किनारामा पितृ श्राद्ध गर्दै ।
आफ्ना पितृको स्मरणमा स्नानपछि एक बृद्ध ।