बरामद गरिएको चिनी प्रहरी कार्यालयबाट गायब

काठमाडौँ । अवैध रुपमा भारतबाट भित्राइएको भन्दै बरामद गरिएको ९ सय किलो चिनी जिल्ला प्रहरी कार्यालय कैलालीबाट गायब भएको छ ।

गत भदौ ८ गते राति करीब साढे ११ बजेको समयमा भारतबाट अवैध रुपमा अटो रिक्सामा लोड गरेर ल्याउँदै गरेको अवस्थामा प्रहरीले ५० किलो तौलका १८ बोरा चिनी प्रहरी नायब निरीक्षक सई मदन धामी नेतृत्वको टोलीले बरामद गरेको थियो ।

अटो रिक्सा चालक धनगढी उपमहानगरपालिका ९ बस्ने अन्दाजी २९ वर्षीय ठकुल्ला थरका एक युवकलाई पनि नियन्त्रणमा लिएर चिनी जिल्ला प्रहरी कार्यालयमा पुर्‍याइएको थियो । रातभर जिल्ला प्रहरी कार्यालय परिसरमा राखिएको चिनी बिहानपख नभेटिएको र भन्सारमा बुझाइएको रेकर्ड पनि नभएकाले प्रहरीले तस्करलाई नै फिर्ता गरिदिएको आरोप लागेको छ ।

चालकलाई केहीबेर राखेर छाडिए पनि चिनी र अटो रिक्सा भने रातभर प्रहरी कार्यालयमै राखिएको थियो । तर अर्को दिन बिहान हेर्दा न चिनी थियो, न अटो रिक्सा । एकजना प्रहरी अधिकृतले भने, ‘उज्यालो हुँदा प्रहरी कार्यालयमा न चिनी भेटियो, न अटो । अचम्म भयो ।’

सई नेतृत्वको टोलीले बरामद गरेको चिनी जिल्ला प्रहरी कार्यालयका एसपी सोमेन्द्रसिंह राठौरको निर्देशनमा उनै गुप्तालाई फिर्ता गरिएको दाबी छ ।