तत्काल निष्पक्ष छानविनको माग

काठमाडौँ । पर्साको छिपहरमाई गाउँपालिका–२ निवासी ३२ वर्षीय फिरोज मियाँ अन्सारीको मृत्यु प्रकरणमा मृतकका आफन्त र शुभेच्छुकहरूले सो घटनाको तत्काल निष्पक्ष छानविनको माग गरेका छन् ।

वीरगञ्जस्थित वीरगञ्ज हेल्थ केयर अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीको लापरवाहीका कारण मियाँको ज्यान गएको आरोप लगाउँदै उनीहरुले दोषीलाई कारबाही र न्यायिक छानविनको माग गरेका हुन् ।

स्वास्थ्यमा समस्या भएपछि गत साउन २६ गते अस्पताल भर्ना भएका मिँयाको गत साउन २७ गते डा आसिफ अन्सारीले पित्तथैलीमा रहेको पत्थरीको शल्यक्रिया गरेका थिए शल्यक्रिया पछि उनको अवस्था जटिल बनेपछि थप उपचारका लागि मियाँलाई काठमाडौँको मेडिसिटी अस्पतालमा पठाइएकामा उपचारकै क्रममा भदौ ५ गते राति मृत्यु भएको थियो ।

हेल्थ केयरमा कार्यरत स्वास्थ्यकर्मीको लापरवाहीका कारण शल्यक्रियाका क्रममा अत्याधिक रगत बगेर मियाँको ज्यान गएको फिरोजका पिता जुनम मियाँको आरोप थियो । बिरामीका आफन्तले यसबारे न्यायिक छानविन र दोषीउपर कानुनबमोजिम कारबाहीको माग राख्दै यसअघि पर्सा जिल्ला प्रशासन कार्यालयमा समेत लिखितरूपमा उजुरी दर्ता गराएको उनले जानकारी दिए ।

यसै विषयमा उक्त अस्पतालका सञ्चालक डा अबुलहैस अन्सारीले अस्पतालको पक्षबाट फिरोजको उपचारमा कुनै लापरवाही नभएको तर स्वास्थ्य अवस्था बिग्रिँदै जानुको कारण पहिलादेखि नै हृदयरोगी रहेको जिकिर गरे ।

उपचारमा सम्लग्न चिकित्सक डा अन्सारीको पेशागत र व्यक्तिगत चरित्रहत्या हुने गरी बिरामीका आफन्त र केही सञ्चार माध्यमले भ्रामक हल्ला फैलाएको भन्दै चिकित्सक सङ्घले आपत्ति जनाएको छ । बिरामीलाई निको पार्न अथक प्रयास गर्दागर्दै पनि उपचारका क्रममा भवितव्यवश केही जटिल समस्या देखिन गएको अवस्थामा बिरामीका आफन्तले मिथ्या आरोप लगाएको डा गुप्ताको भनाइ छ ।