काठमाडौँ । सरकारले पृथ्वी राजमार्ग विस्तारका क्रममा सेती खोला र मादी खोलामा आकर्षक पुल निर्माण गर्न प्रक्रिया अघि बढाएको छ । चार लेनमा सडक विस्तार भइरहेकामा पुल पनि सोही चौडाइमा निर्माण गर्न लागिएको सडक विभागले जानकारी दिएको छ । मादी खोलामा चार लेनको नयाँ पुल बनाउन प्रक्रिया अघि बढिसकेको विभागका महानिर्देशक अर्जुनजङ्ग थापाले बताए ।
उनका अनुसार हाल रहेको पुल पुरानो भइसकेको र आयु कम भएको छ । नयाँ निर्माण गर्दा आधुनिक प्रविधिसँगै हेर्दा आकर्षक पुल निर्माण गर्न लागिएको हो । यी दुई स्थानमा पुल निर्माणका लागि दातृ निकाय (एशियाली विकास बैंक) बाट ‘नो अब्जेक्सन लेटर’ आइसकेको छ । उनले भने, “उताबाट स्वीकृति आएपछि काम सुरु गरिनेछ ।”
सो योजनाको अवधि आव २०८५/८६ सम्म रहेको छ । ठेक्का अङ्कअनुसार योजनाको लागत १३ अर्ब ६२ करोड छ । मुग्लिन–पोखरा सडक योजना (पूर्वी खण्ड) अर्थात् आबुखैरेनीबाट–जामुने भज्याङसम्मको निर्माणको ठेक्का चाइना कम्युनिकेशन कम्पनी लिमिटेडलाई दिइएको थियो ।
कूल ४१ दशमलव ४५ किमीमध्ये एक दशमलव ५२ किमी सहरी क्षेत्र र गैरसहरी क्षेत्रमा ३९ दशमलव ९३ किमी छ । पहिलो ठेक्कामा वित्तीय प्रगति मोबिलाइजेसन पेश्कीसहित १५ प्रतिशत थियो । सो सडक चार लेनमा विस्तार गरिने भए पनि बजारमा थप दुई लेन ‘सर्भिस लेन’ निर्माण गरिने सडक विभागले जानकारी दिएको छ ।
Add Comment