महानगरको ध्यान, घरजग्गा र सम्पत्ति कर असुलतर्फ

काठमाडौँ । अवैधरूपमा निर्माण भएका संरचना भत्काउने काममा लागिरहेको काठमाडौँ महानगरपालिकाको ध्यान अब लामो समयदेखि उठ्न नसकेको घरजग्गा र सम्पत्ति कर उठाउनेतिर पनि मोडिएको छ ।

विगत २९ वर्षदेखि घरजग्गा र सम्पत्ति कर नतिर्ने ठूला करदातालाई फेरि ताकेता गरी यसअघि असुलउपर गर्नुपर्ने सम्पूर्ण बक्यौता रकम लिने तयारीमा कामपा लागिपरेको छ । २९ वर्षको अवधिमा घरजग्गा र सम्पत्ति कर नतिर्नेमा ठूला ठूला व्यवसायी र सार्वजनिक संस्थान बढी रहेको पनि कामपाले जानकारी गराएको छ ।

“उक्त शीर्षकको करस्वरूप कामपाले ५० करोड बक्यौता असुल गर्नुपर्ने छ”, कामपाको राजस्व विभाग प्रमुख डा विश्वराज अधिकारीले भने ७० करोड रकम असुल गर्नुपर्ने थियो, गत वर्ष रु २० करोड असुल गरियो । अब रु ५० करोड बाँकी छ यो वर्ष कुनै पनि हालतमा उक्त रकम उठाएर छोड्ने कामपाको तयारी छ ।”

गत वर्ष पनि कामपाले बक्यौता रकम असुलको सम्बन्धमा सार्वजनिक सूचना जारीसँगै बाजागाजासहित सम्बन्धित संस्थालाई पटक–पटक जानकारी गराएको थियो । उक्त सूचनाको आधारमा केही संस्था सम्पर्कमा आएर कर तिरे पनि अझै धेरै संस्था सम्पर्क गर्नसम्म नआएकाले कामपा यस पटक थप कडाइका साथ रकम असुल गर्नेतर्फ लागेको हो ।

कामपाको सक्रियतापछि लामो समयदेखि असुल हुन नसकेको रकम उठ्न थालेको तथा केहीले विवरण बुझाएर रकम असुल गर्ने मिति तय गरेको कामपा राजस्व विभाग प्रमुख अधिकारीले राससलाई जानकारी दिएका छन् ।

पहिलो चरणमा पत्राचार

महानगरले पहिलो चरणमा पत्राचार गर्ने तयारी गरेको छ । यो काम आगामी हप्ता गर्ने तयारीअनुरूप काम भइरहेको डा अधिकारीले बताए पत्राचारका आधारमा सम्पर्कमा आएर पनि कर बुझाउन आनाकानी गरे दोस्रो पटक माइकिङ गरेर जानकारी दिने र त्यसको पनि बेवास्ता गरे महानगरबाट प्रवाह हुने सेवा रोक्ने र तालाबन्दी गर्ने तयारी कामपाको रहेको छ ।

कर नतिर्नेमा बढी सार्वजनिक संस्थान

विगत २९ वर्षदेखिको करस्वरूपको बक्यौता नतिर्नेमा सबैभन्दा बढी सार्वजनिक संस्थान रहेका छन् । पछिल्लो समय नेपाल विद्युत् प्राधिकरण कर तिर्नका लागि कामपासँग सम्पर्कमा आएको भए पनि अन्य धेरै सार्वजनिक संस्थान विवरण लिएर सम्पर्कमा समेत नआएका कामपाको भनाइ छ । 

यसरी कर नतिर्ने साझा भण्डार, राष्ट्रिय नाचघर, चेम्बर भवन, कर्मचारी सञ्चय कोष, खाद्य संस्थान, कृषि सामग्री कम्पनी, नेपाल सेयर मार्केटलगायत रहेको बताए । 

त्यसैगरी ह्वाइट फिल स्कुल, रञ्जना ट्रेड सेन्टर, मनमोहन मेमोरियल कलेज एण्ड शिक्षण अस्पताल, आरबी कम्प्लेक्स, त्रिवेणी कम्प्लेक्स, डेन्टल अस्पताललगायतले हालसम्म आफ्नो विवरणसमेत विभागमा नबुझाएको कामपाको भनाइ छ ।  समयमा नै कर तिरेन भने प्रत्येक वर्ष १० प्रतिशतका दरले जरिवानास्वरूप रकम वृद्धि हुँदै जान्छ तर कामपाले अघिल्लो दुई वर्षमा भने कोरोनाका कारण करदातामा समस्या परेको भन्दै जरिवाना करमा छुट दिएको थियो ।   

अझै पनि धेरैले आफ्नो घरजग्गा र सम्पत्तिका बारेमा विवरणसमेत बुझाएका छैनन्, तर लामो समयदेखि कर तिर्न आलटाल गरिरहेका करदाताबाट विभागले  ५० करोड असुल गर्ने तयारीस्वरूप अहिले अभियानका रूपमा नै कर सङ्कलन लागिएको हो । कामपाले सम्पर्कमा आउनेले विभागमा कर बुझाउन सही छाप गरेपछि मागअनुसार केही समय थपिदिएको छ । नआउनेलाई विभागले कडाइका साथ कानूनी कारबाही अगाडि बढाउने तयारी गरेको छ । 

, “सम्पर्क नगर्नेको घर, पसल र व्यवसायमा सिलबन्दी गर्ने तथा सरकारी बाँकीसरह राजस्व असुली गर्ने प्रक्रिया अगाडि बढाउने डा अधिकारी बताएका छन् । कामपाले अनलाइन प्राणलीमार्फत राजस्व सङ्कलन गरिरहेको छ । हाल कामपामा अनलाइनमा १ सय ६० करदाता जोडिएका महानगरले जानकारी दिएको छ ।