स्रोत नखुलेको ३९ लाख ५० हजार नगदसहित एक पक्राउ

काठमाडौं । स्रोत नखुलेको ३९ लाख ५० हजार ५ सय रकमसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । रकमसहित पक्राउ पर्नेमा नवलपरासी बर्दघाट नगरपालिका वडा नं ६ का २२ वर्षीय टिकाराम भट्टराई रहेका छन् । प्रहरी प्रभाग नागढुङ्गाको टोलीले धादिङबाट काठमाडौँ आउँदै गरेको ना ४ ख ९६७४ नम्बरको बसमा उनलाई पक्राउ गरी सार्वजनिक गरेको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक दिनेशराज मैनालीले बसको ग्यालेरी’मा हरियो रङको झोलाभित्र रहेको उक्त रकमसहित भट्टराई पक्राउ परेको जानकारी दिएका हुन् ।

पक्राउ परेका भट्टराईसँग प्रहरीले झोला, नगद र एकथान मोबाइल बरामद गरेको छ । भट्टराईलाई प्रहरी वृत्त थानकोटबाट आवश्यक अनुसन्धान भइरहेको प्रवक्ता मैनालीले जानकारी दिएका छन् ।