अवरुद्ध सडक सहमतिपछि खुल्यो

काठमाडौँ । मर्मत नगरिएको भन्दै आक्रोशित स्थानीय बासिन्दाले बुधबार बिहान अवरुद्ध गरेको ईश्वरी राजमार्गअन्तर्गतको सुक्खा बन्दरगाह–खहरे सडकखण्ड सहमतिपछि खुलेको छ ।

करिब २ घन्टाको अवरोधपछि त्यहाँ पुगेका कीर्तिपुर नगरपालिकाका उपप्रमुख शुभलक्ष्मी शाक्य, वडा नं ६ का अध्यक्ष पृथ्वीमान सिंह बस्नेत र सांसद राजन केसीका स्वकीय सचिव विनोद गुरुङ, स्थानीयवासी र सडक विभागका प्राविधिकबीच छलफल भई सडक खुलाउन सहमति भएको थियो । छलफलमा सडक मर्मत तत्काल सुरु गर्ने र दसैँसम्ममा सम्पन्न गर्ने सहमति भएको छ ।

सडक अवरोधले जोडिएका सडकहरूमा समेत सवारी जाम हुन थालेपछि कीर्तिपुर प्रहरी वृत्तको टोली आएर अवरोध खुलाएको थियो । त्यसक्रममा अवरोधमा संलग्न केहीलाई नियन्त्रणमा लिन खोजे पनि स्थानीयवासीको चर्को विरोधका कारण प्रहरी पछि हटेको थियो ।

बल्खुबाट दक्षिणकाली हुँदै हेटौँडा र वीरगञ्जसम्म आवतजावत गर्ने मुख्य नाकाको रूपमा रहेको सो राजमार्ग अवरुद्ध हुँदा त्यहाँ चल्ने स्थानीय र राजधानी भित्रिने तथा बाहिरिने सयौँ लामा रुटका सवारी साधन रोकिएका थिए । बल्खुदेखि दक्षिणकाली सडकखण्ड करिब १० किलोमिटर रहेको छ । उक्त सडकका विभिन्न स्थानमा खाल्डो, पिच उप्किएको र हिलोका कारण दुईपाङ्ग्रे सवारीसाधनलाई अत्यन्त अप्ठ्यारो हुँदै आएको वडाध्यक्ष बस्नेतले बताए ।

करिब एक वर्षअघि कालोपत्रे भएको सो सडकमा अहिले खाल्डै खाल्डा हुँदा यात्रु र स्थानीयवासी दुवैले सास्ती खेप्नुपरेकाले सडक अवरुद्ध गरिएको स्थानीयवासी उत्तम नेपालले राससलाई जानकारी दिए । स्थानीयवासी महेश मगरका अनुसार झण्डै सात महिनादेखि स्थानीयवासीले तत्काल कालोपत्र गरी बाटो मर्मत गर्न आवाज उठाउँदै आएका थिए । करिब दुई महिनाअघि आफूहरुले सडक विभागमै पुगी त्यहाँका अधिकारीहरुलाई सडकको दुरावस्थाबारे बताएको उनले बताए ।