बागलुङमा बस्ती नै बग्ने गरी पहिरो

काठमाडौँ । बागलुङको रायडाँडामा बस्ती नै बग्ने गरी पहिरो जानथालेको छ । बागलुङ नगरपालिका–११ को तल्लो रामतोलामा पहिरो बगेर दर्जनौँ घर परिवार विस्थापित भएका छन् ।

केही दिनदेखि जमिनमा चिरा परेको र मङ्गलबारको अविरल वर्षापछि जमिन बग्न थालेको हो । जमिन बग्दा सडक, जङ्गल, ठूला पिपलका रुख, सुन्तलाको बगान, कुखुरा पालन फार्म र कतिपय घरमा चिरा परेका छन् भने केही घर र गोठ भत्केका छन् ।

“घर कटेरो भत्केपछि सबै छाडेर हिँड्नुपरेको छ”, स्थानीय ढालनाथ शर्माले भने, “छिमेकीका घरपनि चिरा परेका छन्, जुनसुकै बेला खस्छन् ।” केही दिनदेखि जमिन चर्केकामा बुधवार बिहान बढी पहिरो खसेको वडाध्यक्ष ज्ञानेन्द्र गौतमले बताए । यो बस्तीका बिजुलीका खम्बा ढलेपछि झण्डै एक सय घरमा बिजुली अभाव भएको उनले बताए । खानेपानीको ट्याङ्कीसमेत बगेपछि स्थानीय चिन्तामा छन् ।

पहिराले बिजुलीका खम्बा ढल्दा ती घरमा विद्युत् अवरुद्ध भएको गौतमले जानकारी दिए । उक्त पहिराले स्थानीय कुलराज शर्मासहित दर्जन बढी घरपरिवार विस्थापित भइसकेका छन् । केही घरपरिवार सुरक्षित ठाउँको खोजीमा रहेको स्थानीय विष्णु पौडेलले जानकारी दिए ।  जमिन चिरा परेको स्थान हेर्दा थप सयौँ रोपनी जमिन, घर तथा सडक बग्ने अवस्थामा रहेको देखिएको उनले बताए । पहिरोले यहाँको तमाखुवारी भन्ने अर्को बस्तीमा पनि जोखिम बढेको हो । 

“यो सङ्केत हेर्दा यहाँको बस्ती नै जोखिम भयो, अब धेरै घर विस्थापित हुने भए”, पौडेलले भने, “कतै रोकथाम गर्ने अवस्था नै छैन ।” हरेक बारीका पाटामा कुखुराले खोस्रेझै खाल्डा पर्ने र चिरा पर्दै बग्ने गरेको उनले बताए । बगेको पहिराले जैमिनी नगरपालिका–१ को ओडार भन्ने स्थानमा पनि जोखिम बढेको छ । केही स्थानमा क्षति भइसकेको छ ।

केही दिनदेखि परेको वर्षाले पहिरो खस्न थप सहयोग पुगेको इन्जिनियर त्रिलोचन गिरीले जानकारी दिए । “तत्काल कुनै पनि उपायले पहिरो रोक्न सकिने अवस्था छैन”, गिरीले भने, “यो अनौठो तरिकारले सिंगो पहाड खस्ने अवस्था रहेको बताए ।