झुन्डिएको अवस्थामा विद्यार्थीको शव फेला

काठमाडौँ । झुन्डिएको अवस्थामा विद्यार्थीको शव फेला परेको छ । लहान नगरपालिका– ६ श्रीराम कोलोनीस्थित भाडाको घरमा सञ्चालन गरिएको होस्टेलमा बस्दै आएका विद्यार्थीको शव झुन्डिएको अवस्थामा भेटिएको हो।

लहानस्थित जेएस मुरारका बहुमुखी क्याम्पसमा विज्ञान विषय लिएर कक्षा १२ मा पढ्दै आएका राजन पासवानको शव सोमबार बिहान होस्टेलमै झुन्डिएको अवस्थामा भेटिएको हो। उनी करिब १० महिनादेखि होस्टेलमा बस्दै आएका थिए। पासवान सप्तरीको कल्याणपुर नगरपालिका– ७ कल्याणपुरका अशोक पासवानका जेठा छोरा हुन्। पढाइमा अब्बल रहेकाले हत्या गरेर झुन्ड्याइएको हुन सक्ने मृतक राजनका ठूलोबुबा विलेक्षण पासवानको आरोप छ।

सप्तरीको शम्भुनाथ नगरपालिका– १२ का करिब २१ वर्षीय मुकेश यादवले ताहिर अन्सारीको घरको भुइँ र पहिलो तला भाडामा लिएर करिब तीन वर्षदेखि होस्टेल सञ्चालन गर्दै आएका थिए। पासवानसहित आफूहरू तीनजना कुराकानी गरेर रातको करिब १२ बजे सुत्न गएको यादवको भनाइ छ। ‘बिहान छिमेकीहरूले होहल्ला गरेपछि बाहिर हेर्दा होस्टेल रहेकै घरको छतबाट नाइलनको डोरीमा करिब १५ फिट तल झुन्डिएको अवस्थामा शव भेटिएपछि होसहवास नै उड्यो,’ यादवले भने।

घर निर्माणमा बालुवा गिटी छतमा लैजान प्रयोग गरिने नाइलनको मोटो डोरीलाई दोब्बर गरेर होस्टेलको दोस्रो तलामाथि पानीट्यांकी राख्न बनाइएको छतको पिल्लरमा बाँधेको अवस्थामा पासवानको शव झुन्डिएको अवस्थामा भेटिएको हो। बच्चाले लगाउने निलो रंगको गन्जीले उनको मुख बाँधेर त्यहीमाथि एउटा र घाँटीमा अर्को डोरी कसिएको अवस्थामा शव भेटिएको प्रहरीले बताएका छन् । प्रहरीका अनुसार घाँटीमा लत्रिएको अवस्थामा सेतो रंगको मोबाइलको इयरफोनसमेत पाइएको छ।

इलाका प्रहरी कार्यालय लहानका निमित्त प्रमुख प्रहरी नायव उपरीक्षक कोमल ठाकुरका अनुसार घटनास्थलको मुचुल्का उठाई शव पोस्टमार्टमका लागि पठाउने तयारी भइरहेको छ।