दुई सय ७५ मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण सहायता स्वीकार गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले विश्व बैंकबाट यातायात तथा व्यापार आबद्धता अभिवृद्धि कार्यक्रमका लागि प्राप्त हुने २ सय ७५ मिलियन अमेरिकी डलर करिब ३५ अर्ब सहुलियतपूर्ण ऋण सहायता स्वीकार गर्ने निर्णय गरेको छ ।

सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सोमबार बसेको मन्त्रिपरिषद् बैठकले महिला संरक्षण तथा उत्थान प्रणाली सुदृढीकरण परियोजनाका लागि एसियाली बैंकबाट प्राप्त हुने १२ मिलियन अमेरिकी डलर अनुदान सहायता स्वीकार गर्न वार्ता टोली गठन गर्ने निर्णय गरेको बताएका छन् ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अन्य विभिन्न १५ वटा निर्णय गरेको छ । बैठकले प्रहरी वरिष्ठ उपरीक्षक निरञ्जन विष्टलाई राष्ट्रिय सतर्कता केन्द्रको प्रहरी कर्मचारीतर्फ प्रहरी नायब महानिरीक्षक पदमा बढुवा नियुक्ति गर्ने निर्णय गरेको छ ।

सञ्चारमन्त्री कार्कीले महालेखा परीक्षक टङ्कमणि शर्मा दंगाल नेतृत्वको टोलीलाई अन्तर्राष्ट्रिय सर्वोच्च लेखापरीक्षण संस्थाहरुको सङ्गठनको २४ औं महाधिवेशनमा सहभागिता जनाउन स्वीकृत दिने र बेरुजु फर्छ्योट अनुगमन समितिको सचिवालयमा आर्थिक वर्ष २०७९ र ८० का लागि राजपत्राङ्कित स्तरको दरबन्दी स्वीकृत गर्ने निर्णय बैठकले गरेको जानकारी दिए ।