दुई दिन लगातार वृद्धि भएको नेप्से ५७ अंकले घट्यो

काठमाडौँ । पछिल्लो दुई दिन लगातार वृद्धि भएको सेयर बजारमा बिहीबार भने दोहोरो अंकको गिरावट आएको छ। दोहोरो अंकको गिरावट आउँदा बजार राताम्मे बनेको छ। नेप्से ५७ अंकले घटेर १९२४.४८ विन्दुमा पुगेको छ।

दुई सय ३२ कम्पनीको ६९ लाख ४० हजार ५ सय ९६ कित्ता सेयर २ अर्ब १२ करोड ५६ लाख ५५ हजार ७ सय ८७ रुपैयाँमा खरिदबिक्री भएको छ । बुधबारको कारोबारमा नेप्से परिसूचक ४७.४४ अंकले बढेको थियो। सो दिन १ अर्ब ४५ करोड बराबरको सेयर कारोबार भएको थियो।

नेप्सेका अनुसार कारोबारमा आएका सबै समूहको सूचक घटेको छ। फाइनान्स समूहको सूचक सर्वाधिक ५.२४ प्रतिशतले ओरालो लागेको छ ।

यस्तै, डेभलपमेन्टको सूचक ४.६५, हाइड्रो पावरको ४.४६ घट्‍दा ट्रेडिङको ३.९७, होटल्स एन्ड टुरिजमको ३.४२, मनु एन्ड प्रोको ३.१६, अदर्शको ३.९४ र इन्भेष्टमेन्ट समूहको ३.२९ प्रतिशतले घटेको छ ।

कारोबारका आधारमा लक्ष्मी बैंक अग्रस्थानमा रहन सफल भएको छ । सो समूहको २१ करोड बढिको सेयर कारोबार गरेको छ ।

कारोबार भएकोमध्ये मिर्मिरे लघुवित्तको सेयर मूल्य ३.८० प्रतिशत र एनएलजी इन्स्योरेन्सको ०.४१ प्रतिशतले वृद्धि भएको छ । एनआईसी एसिया ब्यालेन्स फण्डको इकाइ मूल्य सर्वाधिक ८ प्रतिशतले गिरावट हुँदा समृद्धि फाइनान्सको सेयर मूल्य ७.३५ प्रतिशतले गिरावट भएको छ ।