न्युयोर्कमा ८० हजार घरबार विहीन

काठमाडौँ । अमेरिकाको सबैभन्दा बढी जनसङ्ख्या भएको सहर मानिने न्युयोर्कमा ८० हजार मानिस घरबार विहीन रहेको पाइएको छ ।

झण्डै १ सय ५० वर्षदेखि घरबार विहीन र खाद्य अभावमा रहेकाहरूलाई सेवा गर्दै आएको बोवेरी मिसनले सार्वजनिक गरेको विवरणमा न्युयोर्कका मात्रै ८० हजार मानिसको घर नरहेको देखिएको हो । सन् १९३० को दशक पछि पहिलो पटक घरबार विहीन भएकाहरूको सङ्ख्या यति धेरै देखिएको सो संस्थाका अधिकारीहरूले जनाएका छन् ।

न्युयोर्क नगरको सामाजिक सेवा विभागले भने ५५ हजार ३ सय ३८ जना मात्रै घरबार विहीन रहेको छ । विभागको वेबसाइटमा उल्लेखित ५५ हजार मध्ये १८ हजार भन्दा बढी बालबालिका रहेको उल्लेख गरिएको छ । घरबार विहीन रहेका सबैलाई अहिलेसम्म पनि अस्थायी शिविरमा राखेर सेवा दिइरहेको विभागले जनाएको छ ।