यसरी सफल भयो महानगर जयनेपाल हलले मिचेको टुकुचा फेला पार्न

काठमाडौ । काठमाडौं महानगरपालिकापालिका क्षेत्रभित्र रहेका अतिक्रमित टुकुचा तथा खहरेहरु संरक्षण गर्न लागि परेको महानगरले वडा नं. १ स्थित जय नेपालहलले अतिक्रमण गरेको टुकुचालाई पुरानै रुपमा फर्काउने कार्यको शुरुवात गरेको छ ।

विहिबार महानगरपालिकाको नगरप्रहरी बलको टोलीले जयनेपाल हल कम्पाण्ड भित्र रहेको टुकुचालाई पुरेर बनाएको पार्किङ्ग क्षेत्रमा डोजर प्रयोग गरी टुकुचा खोला बग्ने मार्ग पहिचान समेत गरेको छ ।

काठमाडौं महानगर वडा नं. १ का वडा अध्यक्ष, शहरी व्यवस्थापन विभागका प्रमुख, जनप्रतिनिधि एवं स्थायीयवासीहरुको समेत सहभागितामा टुकुचा बग्ने मार्ग पहिचान गरिएको हो ।


टुकुचा खोला बग्ने मार्गको अनुमानित संकेत पाएसँग सो क्षेत्रको नापी नक्साका आधारमा टुकुचा पुरिएको स्थानमा महानगरपालिकाको टोलीले करिब १५ फिट गहिरो खन्ने पछि टुकुचा खोला फेला परेको हो । टुकुचा बहाव क्षेत्रको दायाँवायाँ गुम्वज आकारमा इँटाको पर्खाल तथा स्ल्याव निर्माण गरी टुकुचा अतिक्रमण गरिएको पाइएको छ ।

महानगरले गत साउन १२ गते सार्वजनिक सूचना जारी गरी टुकुचाको अतिक्रमण हटाउन निर्देशन दिएको थियो । उक्त ३५ दिने सूचनाको म्याद सकिएपछि महानगरले अतिक्रमति टुकुचा बहाव क्षेत्र खोजी गर्न थालेको हो । महानगरपालिकाले यसअघि नै खोला खोज्नका लागि प्रयास गरेपनि नक्सा भेटिएको थिएनन् । नक्सा भेटिएसँगै महानगरपालिका टोलीले नापी नक्सा अनुसार नै जय नेपाल हल परिसरभित्र खनेर हेर्दा खोला भेटिएको हो ।

महागनगरपालिका वडा नं.१ का वडा अध्यक्ष भरत लाल श्रेष्ठले नियम कानुन अनुसार नै अवैध रुपमा खोला मासेर बनाइएका संरचना भत्काइने बताउनु भयो । महानगरपालिकाले टुकुचा खोलाको अस्तित्व कायम गराउनका लागि खोला अतिक्रमण हटाउन लागेको हो । खोला भेटिएसँगै खोला अतिक्रमण गरी बनाइएका संरचना भत्काउने योजनामा महानगरपालिका रहेको छ । महानगरपालिकाका अनुसार जय नेपाल हलदेखि काठमाडौं प्लाजासम्मको भागमा रहेको टुचुका खोला छोपिएको अवस्थामा रहेको छ । महानगरपालिकाले अहिले अवैध रुपमा निर्माण गरिएका भौतिक संरचना, नक्सा विपरित प्रयोग भइरहेका भवन, बेसमेन्ट र सेमिबेसमेन्ट पार्किङ्गका साथै जथाभावी राखिएका होडिङ्ग तथा फुटपाथ व्यवसाय हटाउने अभियान जारी राखेको छ ।

महानगरले सार्वजनिक जग्गा अतिक्रमण गरि बनाइएका संरचना, स्वाकृति मापदण्ड भन्दा फरक किसिमले प्रयोग गरिरहेका संरचनाहरु ३२ वटै वडाहरुमा हटाईरहेको छ । सोही क्रममा हालसम्म ३९ वटा ठाउँमा मापदण्ड विपरित बनाइएका भौतिक संरचना हटाउनुका साथै कतिपय स्थानमा त्यस्ता संरचना भत्काउने काम पनि गरेको छ । महानगरपालिकाले १९ ठाउँमा बेसमेन्ट तथा जमिन तलाको व्यवसायिक प्रयोजन हटाएर नक्सा अनुसार नै पार्किङ्ग प्रयोजनका लागि खाली गराएको छ । यसैगरी, २० ठाउँका मापदण्ड विपरीत निर्माण गरिएका अनधिकृत संरचनाहरु, ओभरल्यापिङ् र सेडव्याक हटाएको छ ।

भदौको पहिलो सातादेखि सुरु भएको अवैध र अव्यवस्थित संरचना हटाउने महानगरपालिकाको अभियान अन्तर्गत झण्डै एक सय घरका अनधिकृत कम्पाउण्ड भत्काइएको छ । महानगरपालिकाले सुन्धार, दरबारमार्ग, न्यू रोड, कोटेश्वर, जडिबुटी नयाँ बानेश्वर, बुद्ध नगर, पशुपति क्षेत्र, असन–इन्द्रचोक, बालाजु, नयाँ बसपार्क, महाबौद्ध लगायतका क्षेत्रमा रहेको अनधिकृत र अव्यवस्थित संरचना हटाइसकेको छ ।

महानगरपालिकाले सार्वजनिक जग्गा कब्जा गरेको निर्माण गरिएका भौतिक संरचना, पसल, व्यवसायका साथ साथै जथाभावी रुपमा राखिएको होडिङ्ग बोर्डहरु समेत हटाएको छ । यस्तै, महानगरपालिका नगर प्रहरी टोलीले फुटपाथ ओगटेर बनाइएका भ¥याङ्ग, ट्रल र पालीलाई समेत हटाएको छ ।

महानगरपालिकाले अवैध संरचना भत्काउन कामलाई निरन्तरता दिएसँगै कतिपय महानगबासीहरु आफै सचेत भई नियमको पालना गर्न आफै हटाउन थालेका छन् भने कतिपयले महानगरपालिकाको बिरोध समेत गरिरहेका छन् । तर, महानगरपालिका भने महानगरपालिका क्षेत्रलाई व्यवस्थित र सभ्य बनाउका लागि अघि बढीरहेको छ ।