अछाममा पहिरो : मृतकको सङ्ख्या १७ , ६ बेपता

काठमाडौँ । लगातारको वर्षासँगै आएको पहिरोले अछाममा १७ जनाको मृत्यु भएको छ । पहिरोमा ६ जना बेपत्ता भएका छन् ।

अछामका निमित्त प्रमुख जिल्ला अधिकारी दीपेश रिजालका अनुसार जिल्लाका विभिन्न पालिकामा पहिरोमा परी हालसम्म १७ जनाको मृत्यु भएको छ भने छ जना बेपत्ता भएको बताए । उनका अनुसार घाइते ११ जनाको उद्धार गरी नेपाली सेनाको हेलिकप्टरमा उपचारका लागि सुर्खेत लगिएको छ । उपचारका लागि जिल्ला अस्पताल लगिएको छ ।

हालसम्म तुर्माखाँद गाउँपालिका–५ मा चार, कमलबजार नगरपालिका–६ मा सात र वडा नं ८ मा पाँच जनाको शव भेटिएको छ । प्रशासन कार्यालयका अनुसार उक्त वडामा तीन जना पहिरोमा परी बेपत्ता छन् । निमित्त प्रजिअ रिजालका अनुसार ढकारी गाउँपालिका–६ मा एक जनाको शव भेटिएको छ भने एक बेपत्ता छन् ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक भोलाबहादुर रावलले अछाममा पहिरामा परी मृत्यु भएकाको शव व्यवस्थापनदेखि घाइतेको उद्धार र बेपत्ताको खोजीमा प्रहरी परिचालन गरिएको बताए । ।

“यकिन विवरण आइसकेको छैन । मृतकको सङ्ख्या बढ्न सक्छ”, उनले भने, “अछामका धेरै ठाउँमा पहिरो गएको खबर छ ।” अछाममा सञ्चार सेवासमेत अवरुद्ध छ ।

लगातारको वर्षाका कारण कैलाली र कञ्चनपुर सयौँ परिवार डुबानका कारण विस्थापित भएका छन् । वर्षापछि कञ्चनपुरको मछेली, बनहरा र दोदा नदीको बाढी बस्तीमा पसेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक श्यामसिंह चौधरीले जानकारी दिएका छन् । त्यस्तै, सुदूरपश्चिमको सात पहाडी जिल्ला जोड्ने भीमदत्त मार्ग समेतअवरुद्ध भएको छ ।

अछामको वनहरा शिविर, कृष्णपुर नगरपालिकाको तटीय क्षेत्रका वडाहरू, लालझाडी गाउँपालिका–३, शुक्लाफाँटा नगरपालिका–१२, बेलौरी नगरपालिका–५ लगायतमा बाढी घरमा पसेको र डुबान भएको छ ।

प्रहरी उपरीक्षक चौधरीका अनुसार अहिले डुबान परेका स्थानीयलाई सुरक्षित स्थानमा सारिएको छ । “केही जङ्गलमा बसेका छन् भने कतिपय आफन्तकहाँ आश्रय लिएर बसेका छन्”, उनले भने, “बाढीले शुक्लाफाँटा–१२ दुवाहमा झोलुङ्गे पुलसमेत बगाएको छ ।

जिल्लाभर उद्धारमा सुरक्षाकर्मी खटिएका छन् । “गए राति २ बजेदेखि नै प्रहरी टोली परिचालन गरिएको छ । पहिरोका र डुबानका कारण सुदूरपश्चिम प्रदेश नराम्ररी प्रभावित बनेको छ ।