सञ्चालनमा रहेका १२ वटा छाला उद्योग आर्थिक सङ्कटमा

काठमाडौँ । नेपालमा यतिबेला छाला उद्योग आर्थिक सङ्कटमा परेको छ । नेपाल छाला उद्योग सङ्घका अनुसार नेपाली लगानीमा सञ्चालनमा रहेका १२ तयारी छाला उत्पादन गर्ने उद्योग आर्थिक सङ्कलनमा परेका हुन् ।

विशेषगरी नेपालमा उत्पादित तयारी छालाले अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न नसक्दा नेपाली बजारमा उत्पादित छाला उद्योगको व्यापार फस्टाउन नसकेको सङ्घका केन्द्रीय महासचिव मोहम्मद जुनेद इफ्तखारले बताए ।
नेपाल छाला उद्योग सङ्घका अनुसार नेपालमा हाल नेपाली लगानीका तयारी छाला उत्पादन गर्ने १२ उद्योग मात्रै सञ्चालनमा छन् । बजारमा खसीबोका र राँगाभैँसीको छाला मात्र कच्चापदार्थका रुपमा उपलब्ध हुने गर्दछ । गाईगोरुको छाला तेस्रो मुलुकबाट नेपाली बजारमा आयात हुँदै आएको छ । नेपाली छाला उद्योगले अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न नसकेको इफ्तखार बताउछन् ।

नेपालमा हाल सञ्चालनमा रहेका १२ छाला उत्पादन गर्ने उद्योगमध्ये आठवटा बारा र पर्सा छन् भने बाँकी चार उद्योग विराटनगरमा सञ्चालनमा रहेको नेपाल छाला उद्योग सङ्घको भनाइ छ । तेस्रो मुलुकबाट गाईगोरुको छाला (कच्चापदार्थ) नेपाली बजारमा भित्र्याउँदा महँगो पर्ने गर्छ । 

छालाजन्य सामग्रीलाई प्रशोधन गर्न प्रयोग गरिने केमिकल (कच्चापदार्थ) तेस्रो मुलुकबाट नेपाली बजारमा आउँदा महँगो पर्ने हुँदा नेपाली छाला व्यापार मारमा परेको सङ्घका मधेस प्रदेशका महासचिव विनोदकुमार चौधरीले जानकारी दिए । नेपाल छाला उद्योग सङ्घका अनुसार नेपालमा करिब ५ अर्ब बराबरको वार्षिक जुत्ताचप्पलको कारोबार हुने गर्दछ । जसमध्ये ७५% विभिन्न देशबाट नेपाली बजारमा भित्रिने गर्दछ ।

 नेपाल छाला उद्योग सङ्घका अनुसार नेपालमा नेपाली लगानीका हाल सञ्चालनमा रहेका कूल १२ वटा तयारी छाला उत्पादन गर्ने उद्योगमा करिब ५ सय जना  कर्मचारीका रुपमा कार्यरत छन् । सरकारले यदि नेपालमा नेपाली लगानीमा सञ्चालनमा रहेका तयारी छाला उत्पादन गर्ने उद्योगलाई प्रोत्साहन नेपालीमा भित्रिने केमिकल (कच्चापदार्थ) आयातमा सहुलियत प्रदान गर्नुपर्ने साथै वर्तमान योजना समयअनुसार उद्योगमैत्री बनाउनुपर्ने सङ्घका केन्द्रीय महासचिव  इफ्तखारको माग छ ।