पञ्चिकरण शाखा प्रमुख भण्डारीविरुद्ध भ्रष्टाचार मुद्धा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जुम्लाको चन्दननाथ नगरपालिकाको पञ्चिकरण शाखा प्रमुख राजेन्द्र प्रसाद भण्डारीविरुद्ध भ्रष्टाचार मुद्धा दायर गरिएको छ । भण्डारीले व्यक्तिगत हितमा रकम खर्च गरी सरकारी रकम हिनामिना गरेको पुष्टि हुन आएको आयोगको दाबी छ ।

आर्थिक वर्ष २०७४ र ०७५ देखी २०७६ र ०७७ सम्म सामाजिक सुरक्षा भत्ता बैङ्क मार्फत सेवा ग्राहीको खातामा जम्मा नगरी आफ्नो र नाबालक छोराको खातामा रकम जम्मा गरेर आफैले लाभ लिने गरी खाई र मासेको पाइएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता श्याम प्रसाद भण्डारीले बताए ।

खरीदार भण्डारीले सामाजिक सुरक्षा कोषको २० लाख ७८ हजार ६ सय रुपैयाँ हिनामिना गरेको आरोपमा भ्रष्टाचार ऐन बमोजिम कैद सजाय हुन मागदाबी लिई आज विशेष अदालत काठमाण्डौमा आरोपपत्र दायर गरिएको छ ।