राष्ट्रपतिविरुद्ध सर्वोच्चमा रिट

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध सर्वोच्च अदालतमा रिट परेको छ । सङ्घीय संसद्का दुवै सदन प्रतिनिधिसभा र राष्ट्रियसभाले दुई पटक पारित गरेको नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक निर्धारित समयभित्र प्रमाणीकरण नगरेको भन्दै राष्ट्रपतिविरुद्ध बिहीबार सर्वोच्चमा रिट परेको हो ।

सर्वोच्चका प्रवक्ता विमल पौडेलले अधिवक्ता सुनिल रञ्जनसिंह लगायतले सर्वोच्चमा रिट हालेको हो । प्रवक्ता पौडेललका अनुसार रिट आउने क्रम जारी रहेको छ । रिटबारे अध्ययन भइरहेको छ भने यो रिट बाहेक अरू रिट पनि परेको जानकारी उनले दिए ।

सभामुख अग्निप्रसाद सापकोटाले पछिल्लो पटक उक्त विधेयक गत भदौ २० गते प्रमाणित गरी राष्ट्रपति भण्डारीसमक्ष प्रमाणीकरणका लागि पठाएको थियो ।

नेपालको संविधानअनुसार राष्ट्रपतिले प्रमाणीकरण गरिसक्नुपर्ने १५ दिनको समयावधि मङ्गलबार मध्यराति १२ बजे समाप्त भएको थियो ।

नेपालको संविधानको धारा ११३ को उपधारा (४) मा एउटै विधेयक दोस्रो पटक प्रमाणीकरणका लागि पुगेपछि राष्ट्रपतिले अनिवार्य प्रमाणीकरण गर्नुपर्ने व्यवस्था छ ।

नागरिकता विधेयक संविधानले सुनिश्चित गरेको १५ दिनको समयसिमाभित्र प्रमाणीकरण नगरेर राष्ट्रपतिले संविधानको पालना र संरक्षक गर्नु पर्ने कर्तव्यको संवैधानिक व्यवस्था माथिकै प्रहार गरेको ठहर सत्ता गठबन्धनले गरेको थियो ।

बुधबार बसेको सत्ता गठबन्धनको बैठकले राष्ट्रपतिको गैरसंवैधानिक कदमबाट जनताले निर्वाचित गरेको सङ्घीय संसद्को अपमान र अवमूल्यन भएको निष्कर्ष निकालेको थियो ।