कैलालीमा श्रीमानद्वारा श्रीमतीको हत्या

काठमाडौँ । कैलालीमा श्रीमानद्वारा श्रीमतीको हत्या भएको छ । गौरीगङ्गा नगरपालिका–५ का अन्दाजी ३२ वर्षीया ललिता नामजाली मगरको श्रीमान नामजाली मगरले हत्या गरेको प्रहरीले जानकारी दिएको छ ।

इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) रविन्द्र पाण्डेले ललिताको बिहीबार बिहान हत्या गरेको अवस्थामा शव भेटिएको बताए । रोजगारीका सिलसिलामा भारतमा रहेका शेरबहादुर बुधबार मात्र घर फर्किएका थिए ।

डीएसपी पाण्डेका अनुसार उनीमाथि पनि धारिलो हतियार प्रहार भएको छ । ललिताकी १७ वर्षीय छोरीसमेत घाइते छन् । घाँटीमा चोट लागेकी उनको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।

प्रारम्भिक अनुसन्धानबाट ललिताको हत्या उनका श्रीमान् शेरबहादुर नामजाली मगरले गरेको खुलेको डीएसपी पाण्डेले बताए । घटनापछि शेरबहादुर भने फरार भएका छन् ।