कालिझोडामा ५४ वर्षीय पुरुष मृत भेटिए

काठमाडौँ । झापाको विर्तामोड ४ बस्ने ५४ वर्षका देवीप्रसाद पोखरेल मृत अवस्थामा भेटिएको छ । मेचीनगर नगरपालिका–१२, कालिझोडामा पोखरेलको शव भेटिएको हो ।

प्रारम्भिक जाँचका क्रममा पोखरेलले विष सेवन गरेको हुनसक्ने देखिएको जिल्ला प्रहरी कार्यालय, झापाका प्रमुख एसपी विश्वमणि पोखरेलले बताए । उनका अनुसार नजिकै विषको बट्टा पनि बरामद भएको छ । त्यसकारण विस्तृत रुपमा अनुसन्धान गरिरहेका छौं ।

मृतकको भिसेरा जाँचसमेत गर्ने तयारी छ । भिसेरा जाँचबाट मृतकले जीवित हुँदा अन्तिम पटक के–के खाएका थिए भन्ने केही त्यस्तो खुल्नेछ । मृतकको साथबाट सुसाइड नोट वा अन्य कुनै किसिमका लिखत भेटिएको छैन ।

मृतक पोखरेल नेपाल पत्रकार महासंघ झापा शाखाकी उपाध्यक्ष तथा नेपाल प्रेस युनियनकी केन्द्रीय सदस्य सुशीला संग्रौला (पोखरेल) का पति हुन् । उनको आइतबार अपरान्ह ४ बजे कनकाई माईमा अन्त्येष्टि गरिने नेपाल पत्रकार महासंघ झापाका अध्‍यक्ष एकराज गिरीले बताए ।