अस्पतालमा शय्याको अभाव, बिरामीको चाप बढ्न थालेपछि उपचारमा समस्या

काठमाडौँ । कैलालीको टीकापुर प्रादेशिक अस्पतालमा शय्याको अभाव भएको छ । ५१ शय्याको अस्पतालमा दैनिक ५ सय भन्दा बढी बिरामी उपचारका लागि आउने गरेका छन् ।

मौसमको परिवर्तनसँगै अस्पतालमा सेवा विस्तार भएपछि दैनिक बिरामीको चाप बढ्न थालेको हो । “हामीसँग अस्पतालमा ५१ शय्या मात्रै छन् । बिरामीको चापलाई अहिलेको शय्या सङ्ख्याले थेग्न सक्ने अवस्था छैन ।” अस्पताल व्यवस्थापन समितिका अध्यक्ष झपटबहादुर सोडारीले बताए । “प्रदेश सरकारसँग एक सय एक शय्याको अस्पताल बनाउनको लागि प्रस्ताव पेस गरेका छौँ । त्यसको कार्यान्वयन छिटो हुन सकेन भने अस्पतालको सेवा नै प्रभावित हुनसक्ने देखिएको छ ।”

  उनले कञ्चनपुरदेखि सुर्खेतसम्मका बिरामी अस्पतालमा उपचारको लागि आउने गरेका छन् । अस्पतालमा विशेषज्ञ सेवा थपिँदै गएपछि निजी अस्पताल भन्दा सस्तोमा उपचार हुने भएपछि अस्पतालमा टाढाका बिरामी पनि अस्पताल पुग्ने गरेको अध्यक्ष सोडारी बताउन्छ ।

प्रदेशको सहरी विकास कार्यक्रम अन्तर्गत अस्पतालले व्यवस्थित पार्किङको व्यवस्थापन गरेको छ । अस्पतालको बाहिर सडकमा सवारी पार्किङले दुर्घटनाको जोखिम बढाएको बताउँदै पार्किङस्थल निर्माण भएपछि अस्तव्यस्त सवारीसाधन देखिन छोडेको अध्यक्ष सोडारीले बताए । उनले भने, “पहिलेको भन्दा अस्पताललाई व्यवस्थापन गर्दै लगेका छौँ ।”

“अस्पतालको जनशक्ति व्यवस्थापनदेखि भौतिक संरचना निर्माणसम्ममा प्रदेश सरकारले सहयोग गर्दै आएको छ तर, अस्पतालको क्षमता बढाउने कुरामा भने प्रदेशले कन्जुसा्याइँ गरेको जस्तो लाग्छ । अध्यक्ष सोडारीले भने, “अहिले अस्पतालमा शय्याको अभावमा बिरामीलाई भुइँमा राखेर उपचार गर्नुपर्ने बाध्यता छ ।