उत्पादन मिति नभएको खाद्य सामग्री सरकारी गोदाममै भेटियो

काठमाडौँ । काठमाडौं महानगरपालिकाले चाडपर्व लक्षित पारी तीन टोलीले बजार अनुगमन गरेको छ । महानगरले गरेको अनुगमनमा सरकारी कार्यालयको गोदाममा नै उत्पादन मिति नभएको खाद्य सामग्री भेटिएको छ । अनुगमनमा सहभागी उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमल्सिनाले सरकारी संस्थामै अखाद्य वस्तु भेटिएको बताए ।

सरकारी संस्थाको हालत यस्तो छ । सधैं हाम्रो प्रश्नमा पन्छिने काम मात्रै गर्छ । उपभोक्ता प्रति अलि गम्भीर हुनुपर्ने हो तर त्यस्तो छैन । अरुवा मकवानपुरे चामलमा म्याद सकिने मिति २ वर्ष लेखिएको छ । तर उत्पादन मिति लेखिएको छैन । अरु सामग्रीमा पनि त्यस्तै छ । ब्याज नम्बर नै लतरपतर भएके छ । उनले उपभोक्ताको विषयमा सरकार नै जिम्मेवार नभएको बताए । ‘’

मिति सकिएका खाद्य सामग्री विभागले जानी जानी अहिलेसम्म नबेचेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड बागमती प्रादेशकी प्रमुख ज्ञानु थापाले बताइन् । उनले कतिपय सामान गोदाममा राख्दा मिति नभएको हुनुसक्ने स्वीकार गर्दै सच्याउने बताइन् । गोदाममा सामाग्री राख्दा आगमी दिनमा अझै ध्यान दिने उनले बताइन् ।


महानगरले टुकुचा खोलाको खसी बजारसहित विभिन्न क्षेत्रमा अनुगमन गरेको उपमेयर सुनिता डंगोलले बताइन् । अनुगमनका क्रममा बजारमा अखाद्य वस्तु बेच्ने गरेको, महानगरमा व्यवसाय नै दर्ता नगरेको पाइएको उनले बताइन् ।

काठमाडौंको विभिन्न क्षेत्रमा अखाद्य वस्तु वितरण भएको, म्याद गुज्रेको, गोदाम अव्यवस्थित लगायत पाएका छौं,’ डंगोलले भनिन्, ‘पहिलोपटक भएर हामीले आज कुनै कारबाही गरेका छैनौं । तर अब अर्को चोटी अनुगमन गर्दा गल्ती भेटिएमा कानुनी कारबाही गर्ने जानकारी गराएका छौं ।

महानगरले होटल, खाद्य सामग्री, नियमित प्रयोग हुने तरकारी, गोदाम, व्यवसाय दर्ता, नवीकरण, उपभोग्य मिति, प्याकेजिङ जस्ता कुरालाई विशेष ध्यानमा राखेर अनुगमन गरेको उनले बताइन् । महानगरभित्र उपभोक्तालाई समस्या भए, कालोबजारी भएको पाइए, म्याद गुज्रेको सामग्री बिक्री गरेको पाइएमा कल सेन्टरमा फोन गरेर जानकारी गराए तुरुन्तै कारबाही हुने बताइन् ।