आयोगद्वारा ट्रायल अनुत्तीर्ण ६२ चालकमाथि छानबिन

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लाइसेन्स परीक्षामा फेल भएका ६२ जनाले लाइसेन्स पाएको घटनामा छानबिन सुरु गरेको छ।

हेभी सवारीसाधन .जी समूह) चालकको लाइसेन्स परीक्षामा यातायात व्यवस्था कार्यालय, वीरगन्जमा फेल भएका ६२ जनाले लाइसेन्स पाएको घटनामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयले छानबिन सुरु गरेको हो।

गत जेठ र असारका विभिन्न मितिमा प्रयोगात्मक (ट्रायल) परीक्षामा अनुत्तीर्ण भएका ६३ जनामध्ये ६२ जनाले लाइसेन्स पाएको सबन्धमा अनुसन्धान थालिएको अख्तियारको बर्दिबास कार्यालयले जानकारी दिएको छ ।

प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयका अनुसार जनकपुर यातायात कार्यालयबाट ३ वर्षअघि हटाइएका कम्प्युटर अपरेटर मुकेशकुमार बर्माको युजर आइडीबाट ती परीक्षार्थी उत्तीर्ण भएको देखाइएको थिए ।

२०७९ जेठ २६ गते राति १० बजेर १० मिनेटमा एकै दिन ४२ जनालाई उनको आइडीबाट उत्तीर्ण देखाइएको छ। उनीहरू ट्रायलमा अनुत्तीर्ण भएका थिए। यस्तै, जेठ ३० गते राति १० बजेर १२ मिनेटमा १४ जना, असार १९ गते राति १ बजेर २ मिनेटमा ५ जना र २०७८ माघ १० गते साँझ सवा ७ बजे १ जनालाई उत्तीर्ण देखाइएको छ।

अधिकारीका अनुसार समाचारमा उल्लेखित अवधिमा वितरण गरिएको लाइसेन्स विवरण जनकपुर र वीरगञ्ज दुवै यातायात व्यवस्था कार्यालयबाट लिइएको छ। बिहीबारै अख्तियारको टोलीले कार्यालय पुगेर उक्त विवरण लिएको बताए ।