प्रतिनिधिसभा सदस्यका उम्मेद्वारमा सूर्य थापा, उम्मेद्वार बन्न ४० वर्ष

काठमाडौँ । प्यूठानमा प्रतिनिधिसभा सदस्यका उम्मेद्वार सूर्य थापा बनेका छन् । उनले आफू उम्मेद्वार बनेर गाउँ आउनका लागि ४० वर्ष लागेको बताए । उम्मेद्वार मनोनयनपछि जन्मगाउँ झिमरुक गाउँपालिका १ सौतामारेमा आयोजित पहिलो चुनावी सभालाई सम्बोधन गर्दै थापाले ४० वर्षसम्म निरन्तर गरेको संघर्षपछि पहिलोपटक जनतासँग उम्मेद्वार बन्ने हैसियत बनाएर गाउँ आएको खुसी व्यक्त गरे ।

आफू जन्मे हुर्केको माटोमा गाउँलेसँग आर्शीवाद लिन पहिलो चुनावी कार्यक्रम बनाएर आएको थापाले सुनाए। जनप्रतिनिधि नभए पनि आफ्नो जन्मभूमिप्रतिको अभिभारा आफूले कहिल्यै नबिर्सेको उनले सौतामारेबासीलाई जानकारी गराए।

अहिलेसम्म गाउँमा भएको विकास निर्माण आफ्नै योगदानमा भएको उने दाबी गरेका छन् । मलाई उम्मेद्वार बनेर गाउँ आउन ४० वर्ष लाग्यो’,सूर्य थापाले भने,‘पार्टीले एकल निर्णय गरेर उम्मेद्वार बनाएको छ। निर्वाचन कार्यालयमा १० हजार रुपैयाँ तिरेर उम्मेद्वार बन्नका लागि मात्र होइन, हजुरहरुको माया र आर्शीवादले जनताको प्रतिनिधि बनेर प्यूठान बदल्ने अठोट हो।’ उनले जनताको रोजाइमा आफू उम्मेद्वार बनेर आएको समेत सुनाए। प्यूठानको अनुहार बदल्ने आफूसँग स्पष्ट भिजन भएको थापाले बताए ।

झिमरुक गाउँपालिका संगठन कमिटीका अध्यक्ष इन्द्रमणी पोखरेलले गाउँदेखि केन्द्रसम्मको बस्तुस्थिति बुझेको नेतालाई जनताको प्रतिनिधि बनाउन जिल्लाबासीलाई आग्रह समेत गरे।