बारामा एमाले जसपा गठबन्धन भंग, कसले मार्ला बाजी ?

काठमाडौँ । आगामी मंसिर ४ मा हुर्ने निर्वाचनमा नेकपा (एमाले) र जनता समाजवादी पार्टी (जसपा) को गठबन्धन बाराको क्षेत्र नम्बर ३ मा भने छैन। एमाले र जसपाका आ(आफ्ना उमेदवारहरू चुनावी मैदानमा उत्रिएका छन्।

जसपाले वर्तमान प्रतिनिधि सभा सदस्य रामबाबु यादवलाई उम्मेदवार बनाएको छ। यी दुवैजनाको विरुद्धमा सतारूढ गठबन्धनबाट लोकतान्त्रिक समाजवादी पार्टी लोसपाका लालबाबु सिंहलाई टिकट दिइएको छ।सत्ता गठबन्धनको तर्फबाट भने लोकतान्त्रिक समाजवादी पार्टीले आफ्नो उम्मेदवार उतारेको छ। एमाले(जसपा गठबन्धन भंग भएको यस क्षेत्रमा एमालेले आफ्नो पोलिटब्यूरो सदस्य एवं पूर्व राज्यमन्त्री ज्वाला कुमारी साहलाई उम्मेदवार बनाएको छ ।

जसपाबाट उम्मेदवार रहेका यादव पार्टीका मधेश प्रदेश अध्यक्षसँगै यसै क्षेत्रबाट २०७४ सालको निर्वाचनमा सांसदमा निर्वाचित भएका थिए। उनी जसपा बाराका पूर्व अध्यक्षसमेत हुन्।

यसैगरी, एमालेकी उम्मेदवार ज्वाला भने पूर्व माओवादी नेतृ हुन्। उनी नेकपा विभाजन हुँदा एमालेमै बसेकी थिइन्।२०७४ सालको निर्वाचनमा साह यसै क्षेत्रको ‘क’ बाट नेकपा (माओवादी केन्द्र)बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएकी थिइन्।

उनी २०६४ सालको पहिलो संविधानसभा सदस्यमा माओवादी केन्द्रबाटै निर्वाचित भएकी साह बाबुराम भटराई प्रधानमन्त्री भएको बेलामा भूमिसुधार तथा व्यवस्था राज्यमन्त्रीसमेत भएकी थिइन्।

यस्तै, यस क्षेत्रबाट लोसपाका उम्मेदवार सिंह भने नवप्रवेशी हुन्। उनी चुनावको मुखमा लोसपा प्रवेश गरेर टिकट पाउन सफल भएका हुन्। नेपाली कांग्रेस बाराका पूर्व सभापति समेत रहेका सिंह कांग्रेसको भागमा यो क्षेत्र नपरेपछि लोसपामा गएर चुनावी प्रतिस्पर्धामा उत्रिएका हुन्। यस क्षेत्रमा तीनैजना बलिया उम्मेदवार भएका कारण पनि त्रिपक्षीय रोचक भिडन्तको सम्भावना छ।