व्यापारिक भवनमा आगलागी, डेड करोड बराबरको धनमाला जलेर नष्ट

काठमाडौँ । उदयपुरको त्रियुगा नगरपालिका ७ चुहाडेचौकमा आइतबार राति व्यापारिक भवनमा आगलागी भएको छ ।
राति १० ३० बजे स्थानीय राजु कार्कीको पसल भएको घरमा आगलागी हुँदा तीनवटा पसलको ५ लाख ४६ हजार नगदसहित १ करोड ६५ लाख मुल्य बराबरको धनमाला जलेर नष्ट भएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी राकेशकुमार पोदारका अनुसार आगलागीबाट स्थानीय पर्शुराम राईको जग्गा भाँडामा लिइ कार्कीले निर्माण गरेको जस्ताले छाएको ट्रसवाला एक तले घर र कपडा पसल, अनिल घिमिरेको एग्रोभेट, विरेन शाहको होटल तथा फलफूल पसल जलेर नष्ट भएको हो ।

प्रहरीको स्थलगत प्रारम्भिक प्रतिवेदन अनुसार कार्कीको कपडा पसल तथा फर्निचर, सुन ७ तोला र नगद ३ लाख ५० हजारसमेत गरी ८० लाख बराबरको क्षति भएको छ । त्यसैगरी घिमिरेको एग्रोभेट पसलको सबै औषधि लगायतका सामानहरु गरी ६५ लाख बराबरको क्षति भएको डिएसपी पोदारले बताए ।

डिएसपी पोदारका अनुसार साहको होटल र होटलसँगै रहेको फलफूल पसल, ३ तोला ८ आना सुन, नगद १ लाख ९६ हजारसमेत गरी २० लाख बराबरको क्षति भएको छ । राती सबै जना छठ पुजामा त्रियुगा नदी गएको र केही घरतर्फ गएको बेला विद्युत सर्ट भइ अचानक आगालागी भएको प्रहरीले बताए ।

मानवीय र पशुचौपायमा क्षति नभए पनि व्यापारिक भवन भएको हुँदा व्यापारीको ठूलो क्षति भएको स्थानीयले बताएका छन् । स्थानीयबासीले भने सदरमुकाम गाईघाटबाट सात किलोमिटर नजिकमा रहँदा पनि समयमा वारुणयन्त्र पुग्न नसकेको बताए ।

आगलागी भएको दुई घण्टापछि त्रियुगा, चौदण्डिगढी नगरपालिका र रौतामाई गाउँपालिकाको वारुणयन्त्रको सहयोगमा स्थानीबासी, नेपाल प्रहरी, सशस्र प्रहरी र नेपाली सेनाले आगो नियन्त्रणमा लिएको थियो । आगलागी भएको ४५ मिनेटपछि वारुण यन्त्र पुगेको स्थानीयले बताएकाछन् । समयमा वारुणयन्त्र नपुग्दा ठुलो क्षति व्यहोर्नु परेको स्थानीयले गुनासो गरेका छन् ।