बलात्कार अभियोगमा सन्दीपलाई १२ वर्ष कैद माग

काठमाडौँ । राष्ट्रिय क्रिकेट टिमका निलम्बित कप्तान सन्दीप लामिछानेविरुद्ध नाबालिग बलात्कार अभियोगमा १० देखि १२ वर्षसम्म कैद सजाय मागदाबीसहित काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको छ । जिल्ला सरकारी वकिलको कार्यालयले मुलुकी अपराध संहिता, २०७४ को दफा २१९ को उपदफा ३ ९घ० अनुसार नाबालिगमाथि बलात्कार गरेको कसुरमा सोमबार अदालतमा दायर गरिएको मुद्दामा पीडितलाई यथोचित क्षतिपूर्तिको मागदाबी पनि गरिएको छ ।

मुलुकी अपराध संहिताको दफा २१९ मा ‘कसैले कुनै महिलालाई निजको मञ्जुरी नलिई करणी गरेमा वा मञ्जुरी लिएर भए पनि १८ वर्षभन्दा कम उमेरकालाई करणी गरेमा निजले त्यस्तो महिला वा बालिकालाई जबर्जस्ती करणी गरेको मानिने’ उल्लेख छ । सोही दफाको उपदफा ३ मा जबर्जस्ती करणी गर्ने व्यक्तिलाई करणी गर्दाको परिस्थिति र महिलाको उमेर हेरी कैद सजाय हुने व्यवस्था छ । उपदफा ३ को (घ) मा ‘१६ वर्ष वा १६ वर्षभन्दा बढी १८ वर्षभन्दा कम उमेरकी महिलालाई करणी गरे १० वर्षदेखि १२ वर्षसम्म कैद सजाय हुने उल्लेख छ । अदालतमा पेस गरिएको अभियोगपत्रमा घटना हुँदाका बखत पीडितको नागरिकता प्रमाणपत्रअनुसार उमेर १७ वर्ष २ महिना रहेको उल्लेख छ ।

मुलुकी अपराध संहिता, २०७४ को दफा २१९ को उपदफा ३ (घ) अनुसार लामिछानेलाई कैद र पीडितलाई क्षतिपूर्ति भराउनुपर्ने सुझावसहित प्रहरीले कात्तिक ६ मा सरकारी वकिलको कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको थियो । त्यही आधारमा सोमबार मुद्दा दर्ता गरिएको हो । ‘अदालतमा मुद्दा बुझाएका छौं, सम्भवतस् मंगलबार गोलाबाट मुद्दा पर्ने न्यायाधीश थाहा हुन्छ । त्यसपछि प्रतिवादीको बयान र थुनछेक बहस सुरु हुन्छ,’ काठमाडौं जिल्ला सरकारी वकिलको कार्यालयका जिल्ला न्यायाधिवक्ता लक्ष्मण उपाध्याय घिमिरेले भने ।

अदालतमा पेस गरिएको अभियोगपत्रमा मुद्दाको किनारा नलागेसम्म लामिछानेका नाममा भएका चलरअचल सम्पत्ति रोक्का राख्न पनि माग गरिएको छ । अभियोगपत्रमा लामिछानेले नाबालिगलाई जबर्जस्ती करणी गरेको तथ्य र प्रमाणबाट पुष्टि भएको उल्लेख छ । ‘विविध प्रविधि प्रयोग गरी सूक्ष्म रूपमा अनुसन्धान गरी पीडितलाई न्याय र पीडकलाई सजाय दिलाउने प्रहरीको उद्देश्य हुन्छ,’ काठमाडौं प्रहरी प्रवक्ता एसपी दिनेश मैनालीले कान्तिपुरसँग भने, ‘यो केसमा पनि प्रहरीबाट यथेष्ट प्रमाण संकलन गरेर मुद्दा चलाउने सुझावसहितको प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाइएको थियो ।’

लामिछानेले गत भदौ ५ को राति तिलगंगाको एक होटलमा लगेर जबर्जस्ती करणी गरेको भन्दै नाबालिगका तर्फबाट भदौ २१ मा प्रहरी वृत्त गौशालामा जाहेरी परेको थियो । भोलिपल्ट प्रहरीले जाहेरी दर्ता गरेर अनुसन्धान सुरु गरेको थियो । जाहेरी दिँदा आरोपित लामिछाने केन्यासँगको ट्वान्टी–२० क्रिकेट शृंखला सकेर उतैबाट क्यारेबियन प्रिमियर लिग (सीपीएल) खेल्न वेस्ट इन्डिज पुगेका थिए । त्यसपछि अमेरिका गएका उनी गत असोज २० मा नेपाल आउने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पक्राउ परेका थिए । लामिछाने होटलमा बसेको भोलिपल्टै केन्याको राजधानी नैरोबी प्रस्थान गरेका थिए ।

काठमाडौं जिल्ला अदालतले लामिछानेलाई पक्राउ गरी अनुसन्धान अघि बढाउन भदौ २३ मा प्रहरीलाई अनुमति दिएको थियो । लगत्तै प्रहरीले उनलाई फरार सूचीमा राखेको थियो ।

त्यही दिन नेपाल क्रिकेट संघ ९क्यान० ले उनलाई कप्तानबाट निलम्बन गरेको थियो । प्रहरीले गत असोज ७ मा विश्वभरका प्रहरीको साझा संगठन इन्टरपोलको डिफ्युजन नोटिसमा राखेर लामिछानेको खोजी कार्य अघि बढाएको थियो । त्यसपछि दबाबमा परेका लामिछाने अमेरिकाबाट कतारको दोहा हुँदै नेपाल आएका थिए ।

लामिछानेले होटलमा जबर्जस्ती गर्न खोजेपछि आफूले प्रतिवाद गर्दा कुटपिट भएको पनि पीडित नाबालिगले प्रहरीलाई बयान दिएकी छन् । लामिछानेबाट आफू दुई पटक बलात्कृत भएको पीडितको भनाइ छ । लामिछानेलाई आफूले फ्यानका रूपमा भेटेको र भेटका लागि अर्का क्रिकेटर देव खनालले समन्वय गरिदिएको पीडितले उल्लेख गरेकी छन् । सुरुमा ‘स्न्याप च्याट’ मार्फत चिनजान गरेर पछि भेट भएपछि लामिछानेले घुम्नका लागि नगरकोट जान दबाब दिएको पीडित नाबालिगको बयान छ । जबर्जस्ती नगरकोटको होटलमा पुर्‍याएपछि फर्काएर आफूलाई तिलगंगाको होटल लगेको पीडितको भनाइ छ ।

प्रहरीको विधि विज्ञान प्रयोगशालाको रिपोर्टमा नाबालिगको कन्याजाली च्यातिएको उल्लेख छ । लामिछानेले भने किशोरीकै आग्रहमा आफू नगरकोट गएको जिकिर गरेका छन् । आफूलाई पीडित भनिएकी व्यक्तिले १९ वर्ष उमेर उल्लेख गरेको पनि उनको बयान छ ।

राति अबेर भएपछि होटल बुक गरेर सहमतिमै बसेको दाबी पनि लामिछानेले गरेका छन् । तर उनले नाबालिगमाथि कुटपिट गरेको विषयले जबर्जस्ती करणी गरेको किशोरीको दाबीलाई थप पुष्टि गर्ने प्रहरीको भनाइ छ । लामिछानेले एउटा मात्रै कोठा बुक गरेको बयान होटलका कर्मचारीले प्रहरीलाई दिएका छन् । दुई वटा कोठा बुक गर्न आग्रह गर्दा लामिछानेले नमानेको पीडितले जाहेरीमै खुलाएकी छन् । कान्तिपुरपोष्टबाट